Wednesday, July 25, 2012

बेपत्ता नागरिक खोज्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

साउन, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरुको खोजीका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राज्यद्वारा बेपत्ता पारिएका योद्धा समाजले माओवादी पार्टी केन्द्रीय कार्यालयद्वारा पेरिसडाँडामा प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै भट्टराईले काँग्रेस र एमालेका कारण बेपत्ता नागरिक खोजबिनका लागि निर्माण गर्न लागिएको कानुन बनाउन नसकिएको बताउनुभयो । उहाँले बेपत्ता नागरिकहरुको स्थिति सार्वजनिक हुन नसक्दा परिवारमा झन् पीडा थपिने भएकाले पनि सरकार त्यसबारेमा गम्भीर बनेको बताउनुभयो ।
राज्यद्वारा बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्न सरकारलाई पटक-पटक दबाब दिँदा पनि सार्वजनिक नगरिएको भन्दै बेपत्ता परिवार समाजलेप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाजका सचिव पूजा खनालले जानकारी दिनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको पूर्व सभासद्समेत रहनु भएकी खनालले बताउनुभयो । उहाँले आफ्ना आफन्तहरु बेपत्ता पार्न प्रमुख भूमिका खेलेका भैरवनाथ गणका तत्कालीन गणपति राजु बस्नेतलाई सरकारले पदोन्नति गर्न लागेको भन्दै त्यस्तो गरिए राम्रो नहुने चेतावनीसमेत दिएको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्रीले सरकार दण्डहीनताको पक्षमा नभएको भन्दै नागरिक बेपत्ता पार्नेहरुकोबढुवा नहुने बताउनुभएको थियो ।
ज्ञापनपत्रमा समाजले बेपत्ता सार्वजनिकसम्बन्धी विधेयक तथा आयोग तुरुन्त गठनगर्न माग गरेको छ । समाजले बेपत्ता र सहिदका बालबालिकालाई दिइँदैआएको छात्रवृत्ति रकम पर्याप्त उपलब्ध गराउन तथा उमेर र सङ्ख्याको हदबन्दी हटाउन पनि माग गरेको छ । त्यसैगरी, बेपत्ता नागरिकका परिवारलाई परिचयपत्रको व्यवस्था गर्न पनि माग गरिएको छ । रासस

No comments:

Post a Comment