Wednesday, June 13, 2012

मंसिरमै चुनाव हुन्छ : गच्छदार

अजित तिवारी, विराटनगर, जेठ ३१- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले संविधानसभाको अर्को निर्वाचन मंसिर ७ गते नै हुने दाबी गरेका छन्। उनले मुलुक सामु अर्को विकल्प नरहेकाले चुनाव भइ छाड्ने ठोकुवा गरे। ‘राजनीति दलको सहमतिमा ऐन,कानुन, नियम परिमार्जन गरेर भएपनि सरकारले मंसिर ७ गते चुनाव गराउँछ' -बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष समेत रहेका गच्छदारले भने,‘सरकार चुनावको घोषणाबाट पछाडि हट्दैन।' सर्वोच्च अदालतको निर्णयको आधारमा सरकारसंग निर्वाचन वाहेकको अर्को उपाय नरहेको उनको भनाइछ।
‘एसएलसीमा एकचोटी फेल भयो भन्दैमा अर्को पटक जाँच नै नदिने'-गच्छदारले भने,‘एकैपटक भात खाएर पुग्छ, अर्को पटक खानुपर्दैन?' उनले संविधानसभाको पहिलो परीक्षामा दलहरु असफल भएपनि अर्को पटक सफल हुने दाबी गरे। ‘सर्वोच्च अदालतकै निर्णयबाट संविधानसभा विघटन भएको हो'-उनले भने,‘त्यसैले यसलाई ब्युँत्याउन सकिन्न।'
उनले विज्ञ वा आयोगले संविधान बनाउन नसक्ने तर्क गरे। ‘विज्ञ र आयोगले नै संविधान बनाउने हो भन्ने यत्रो रुपैयाँ खर्च गरेर चुनाव किन गराइरहनु'-गच्छदारले भने,‘पहिचान सहितको संघियताका लागि नेपाली जनताले रगत बगाएकाले विज्ञ र आयोगले संविधान बनाउन सक्दैन।' गच्छदारले आफनो पार्टी पहिचान सहितको संघियताको नारा बोकेर चुनावमा जाने बताए। उनले काँग्रेस-एमाले चुनावबाट डराउनुपर्ने कुनै अवस्था नरहेको वताए। ‘संविधान लेखन प्रकृया पनि अड्काउने र चुनाव पनि नजाने'-उनले भने,‘काँग्रेस-एमालेले किन डराएको?।'
गृह जिल्ला सुनसरीका कार्यक्रममा सहभागि हुन गच्छदार यहाँ आएका हुन्। अरु भ्रमण भन्दा गच्छदारको यो भ्रमणमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

No comments:

Post a Comment