रुद्र खड्का, सिमकोट (हुम्ला), जेठ ३१ - गरिबी निवारण कोषले हिँडेर जान मिल्ने ठाउँमा समेत योजना 'अनुगमन गर्ने' भन्दै हेलिकप्टर चार्टर गरिरहेको छ। सदरमुकाम सिमकोटबाट पैदल एकदेखि दुई दिनसम्म लाग्ने स्थानमा हेलिकप्टर प्रयोग गरिएको हो। 'अनुगमन' का लागि विभिन्न गाउँ जाने तयारी हुँदै गर्दा सोमबार सदरमुकाममा साना र ठूला राजनीतिक दलबीच विवाद भयो।
हुम्लामा कोषले स्थानीय पाँच गैरसरकारी संस्थासँगको साझेदारीमा विभिन्न योजना सञ्चालन गर्दै आएको छ।
कोषले सिडिओ, एलडिओ, डिएसपी र कांग्रेस, एमाले र एकीकृत माओवादीका प्रमुखलाई हेलिकोप्टर चार्टर गरी गाउँ/गाउँ लैजाने तयारी गरेपछि हेलिकप्टर प्रयोग गर्ने/नगर्ने विषयमा दलहरूबीच विवाद भएको हो।
छनोटमा नपरेका कतिपय दलका नेताले लैजानुपर्ने माग राखे। जिल्लामा तीव्र विवाद हुँदाहुँदै कोषले एक लाख रुपैयाँ तिरेर चार्टर गरेका फिस्टेल र सिमि्रकका दुई हेलिकप्टरमा सयर गर्दै सरकारी, गैरसरकारी कर्मचारी र तीन दलका नेता सोमबार जिल्लाको लिमी पुगेका छन्।
उनीहरू कहिले फर्कने हुन् भन्ने कसैलाई जानकारी छैन। त्यहा" पुग्न पैदल एकदेखि दुई दिन लाग्छ। अति विपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्याउन कोषद्वारा सञ्चालन गरिएका योजना देखाउन हेलिकोप्टर चार्टर गरी अनुगमनकर्ताहरू लिमी पुर्याइएका हुन्।
टोलीमा सिडिओ विजयनारायण मानन्धर, एलडिओ नरेशप्रसाद ढकाल, डिएसपी होमबहादुर लामा, कांग्रेस जिल्ला अध्यक्ष जयपति रोकाय, एकीकृत माओवादीका सह-इन्चार्ज वीरजंग शाही, एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य लोकबहादुर हमाल, कोषको पार्टनर एनजिओ हिमालय कन्जरभेसन एन्ड डेभलपेन्ट एसोसिएसनका मानबहादुर बम, कोषका म्यानेजर महेश शाहीलगायत १० जना छन्।
पाँच/पाँच जना बस्न मिल्ने दुई हेलिकोप्टर चार्टर गरिएबापत ५० हजार रकम कोषले बुझाइसकेको हेलिकोप्टर चार्टर व्यवसायी विजय लामाले बताए। 'उड्नुअघि कोषले ५० हजार बुझाइसकेको छ,' लामाले भने, 'बाँकी रकम फिल्डबाट फर्केपछि बुझाउने सहमति भएको छ।'
गरिबका लागि सञ्चालित योजना 'अनुगमन' गर्न गएको टोलीले पुनः हेलिकोप्टर प्रयोग गरे थप रकम व्यहोर्नुपर्ने लामाले बताए। लिमीमा रहेको टोलीले सदरमुकाम फर्कँदा हेलिकप्टर प्रयोग गर्ने/नगर्नेबारे कुनै जानकारी दिएको छैन।
कैलाश मानसरोवर जाने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई चीनको सिमाना हिल्सासम्म पुर्याउनका लागि एक महिनादेखि फिस्टेल र सिमि्रक एयरका दुई हेलिकप्टर सिमकोटमा छन्।
कोषले चार्टर गर्दा ती हेलिकप्टरले विदेशीलाई बोक्न पाएनन्। फिस्टेलका एक कोपाइलटले सिडिओ, प्रहरी प्रमुखलगायतलाई भन्दै जबर्जस्ती हेलिकप्टर लिमी पठाइएको बताए।
चीनको सिमाना पर्ने लिमीमा हेलिकप्टर ल्यान्ड गर्न सुरक्षित स्थान नभएको जानकारी दिँदा पनि उड्न लगाइएको ती कोपाइलटले गुनासो गरे। सिमि्रक र फिस्टेल हेलिकप्टर कोषका अनुगमनकर्तालाई लिमीमा छाडेर सोमबारै सदरमुकाम सिमकोट फर्किए।
विपन्नलाई सहयोग पुर्याउन कार्यक्रम सञ्चालन गरेका संस्थाले 'अनुगमन' मा जाँदा हेलिकप्टर प्रयोग गरिएको घटनालाई यहाँ धेरैले विरोध गरेका छन्। राप्रपा नेपालका केन्द्रीय सदस्य बिर्ख महतले हुम्लामा गरिबका लागि निकासा गरिएको बजेट कसरी दुरुपयोग भइरहेको छ भन्ने हेलिकप्टर चार्टरको उदाहरण पर्याप्त भएको बताए।
'अनुगमनमा जाँदा हेलिकोप्टर चार्टर गर्नुपर्ने कुनै आधार देखिँदैन,' उनले भने, 'कर्मचारी, एनजिओ, नेता मिलेर बजेट दुरुपयोग गरे।'
मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष शोभन्य रोकायले हेलिकप्टर चार्टर गर्नुको उद्देश्य योजना अनुगमन नभई घुमफिर, मोजमस्ती गर्नु रहेको आरोप लगाए। 'हजारौं सर्वसाधारणलाई साँझ-बिहान कसरी गुजारा चलाउने समस्या छ,' उनले भने, 'त्यस्तो गाउँमा बस्ने विपन्नका लागि सञ्चालन गरिएका योजना अनुगमन गर्न हेलिकप्टर चढ्नु लाजमर्दो हो।'
विपन्न जनताको जीवनस्तर सुधार गर्न कोषले मध्य तथा सुदूर पश्चिमका २४ जिल्लासहित अधिराज्यका ४० जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विगतमा हेलिकप्टर चार्टर गरी कुनै पनि योजनाको अनुगमन गर्न सदरमुकामबाट टोली फिल्डमा गएको जानकारी नभएको हुम्लाका स्थानीयले बताए। अनुगमनमा जाँदा कोषले अनुगमनकर्ताको फिल्डमा बस्ने/खाने खर्च व्यहोर्नुका साथै भत्ता पनि उपलब्ध गराउँछ।
जेठ २५ गते पनि मिमी र खार्पुनाथ गाविसमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेला ती गाविस र जिविसले यसैगरी हेलिकप्टर चार्टर गरी सदरमुकामबाट अतिथि ओसारेका थिए।
जिविसका एक कर्मचारीका अनुसार सिडिओ मुख्य अतिथि रहेको कार्यक्रममा ४०/४० हजार रूपैयाँ तिरेर दुई हेलिकप्टर चार्टर गरिएको थियो।
यता गरिबी निवारण कोषका प्रवक्ता श्रीराम सुवेदीले भने विपन्न जनताका लागि काम गर्दै आएको कोषले अनुगमनमा जाँदा हेलिकप्टर चार्टर गर्ने प्रावधान नभएको बताए।
'दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री माधवकुमारनेपाल कोषद्वारा सञ्चालित योजना अनुगमन गर्न जाँदा समेत सेनाको हेलिकप्टर प्रयोग गर्नुपरेकोथियो,' सुवेदीले भने, 'नियमभन्दा बाहिर गएर चार्टर गरिएको हेलिकप्टरको रकम भुक्तानी हुँदैन।'
कोषका म्यानेजरले हेलिकोप्टर चार्टर गर्दा तथा फिल्डमा बस्दा लाग्ने रकम साझेदारी संस्थाले पनि व्यहोर्नुपर्ने बताएको साझेदार संस्थाका एककर्मचारीले बताए।
No comments:
Post a Comment