तोली गाविस–२ धनीगाउँका सेते दमाईको हत्या गरेकोअभियोगमा जिल्ला अदालतले घटनामा संलग्नहरु सबैलाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश रामकृष्ण भट्टको इजलासले नौ जनामध्ये मंगलबार बिन्दकला शाही, जीवन शाही र कृष्णबहादुर खत्रीलाई जन्मकैद अर्थात २० वर्ष जेल सजाय सुनाएको छ ।
हत्या अभियोगमा नाबालक सुवास केसी र डिल्लीप्रसाद खत्रीलाई १० वर्ष सजाय तोकेको छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) र बालबालिकासम्बन्धी ऐन ०४८ को दफा ११ (२) बमोजिम उनीहरुलाई १० वर्ष मात्र कैद तोकिएको अदालतका श्रेस्तेदार आनन्दराज पन्तले जानकारी दिए । त्यस्तै, घटनाका मतियार तुलबहादुर चन्द, मदन शाहीर गणेश सिंहलाई ५ वर्ष जेल सजाय सुनाइएको छ ।
प्रेमबहादुर शाहीलाई ज्यानसम्बन्धी महलको १७ (२)अनुसार ५ वर्ष कैद हुनेमा निज नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन ०४८ को दफा ११ (२) बमोजिम २ वर्ष ६ महिना सजाय सुनाइएको श्रेस्तेदार पन्तले जनाए । तुलबहादुर, मदन, गणेश र प्रेमबहादुरले हत्या गराउन संयोग पारिदिएको फैसलामा उल्लेख छ ।
सन्तबहादुर दमाई र साही ठाउँकै भक्तबहादुर शाहीकी छोरी राजकुमारीबीचको प्रेम विवाह भएपछि माइती पक्षका बिन्दकला शाहीसहितका ९ जनाले सन्तबहादुरका बाबु सेतेलाई ०६८ भदौ १३ गते राति घरमै खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सख्त घाइते ५४ वर्षीय सेतेको भोलिपल्ट उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सेतेको हत्या जातीय विभेदका कारण भएको भन्दै जिल्लास्थित दलित अधिकारकर्मीहरुले दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै आएका थिए ।
निर्दोष बाबुको हत्या गरेको भन्दै कान्छा छोरा सन्तबहादुरले हत्यामा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिई कारबाहीको माग गरेका थिए । कर्तव्य ज्यान र जातीय भेदभाव तथा छुवाछुत सजाय कसुर ऐन बमोजिम हदैसम्म सजाय माग गर्दै ०६८ असोज ८ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । फैसलाको स्थानीय दलित अधिकारकर्मीहरुले स्वागत गरेका छन् ।
No comments:
Post a Comment