भारतमा आइए पढेका रेग्मी चीन जान बाँकी
३० फागुन, काठमाडौं । विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको
पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम
चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी
न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं
सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन
लगभग सफल हुनुभएको छ । यद्यपि उहाँको पद 'प्रधानमन्त्री' नभई
अध्यक्षमात्रै रहने छ ।
पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन्
१९६६ आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन
विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी
संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग,
काठमाडौंमा रहेको छ । उहाँको घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि
दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा
अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो । न्यायसेवा प्रवेशको
दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११
वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको
उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१
बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि
१९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो
।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि
सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल
सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन्
१९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो
पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड
प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका
रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स,
नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान,
दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र
भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण
गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ ।
आचार संहिता बनाउने आफैं
सन् २००८ मा तयार पारिएको न्यायाधीशहरुको आचारसंहितामा रेग्मीको
महत्वपूर्ण योगदान रहेको छ । सो आचारसंहिता निर्माण गर्ने समितिको उहाँ
संयोजक हुनुहुन्थ्यो । आफूविरुद्ध अदलातमा परेको मुद्दा विचाराधीन रहेकै
अवस्थामा उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार देखिनुभएको हो ।
यसमा तपाइको मत
No comments:
Post a Comment