कलेन्द्र सेजुवाल, हर्रे (सुर्खेत), भदौ १८ - नेपालगन्ज-सुर्खेत जोड्ने
रत्न राजमार्गको हर्रे नजिकै सडकमा पहिरोसँगै ठूलो चट्टान खस्दा सडक
अवरुद्ध भएको छ। गएराति करिब ९ बजे खसेको चट्टान अहिलेसम्म हटाउन नसकिएको
४ नम्बर डिभिजन सडक कार्यालयले जनाएको छ।
पहिरोसँगै चट्टान खसेपछि हटाउन मुश्किल भएको कार्यालयका सव-इन्जिनियर
तुलाराम शर्माले जानकारी दिए। 'हामीसँग भएको सबैभन्दा ठूलो क्षमताको
लोडरले पनि ढुंगा उठाउन सकेन,' उनले भने, 'पहिरोमात्र भएको भए त जति ठूलो
भए पनि दुई/चार घण्टामै सफा गर्न सकिन्थ्यो, चट्टानै खसेपछि गाह्रो भयो।'
सुर्खेतमा भएका लोडरले काम गर्न नसकेपछि नेपालगन्जस्थित हेभी इक्यूपमेन्ट
डिभिजन कार्यालयबाट रक ब्रेकर मेसिन र दुईवटा ठूला लोडर मगाइएको उनले
बताए।
चट्टान हटाउन प्रयास गर्दै सशस्त्र प्रहरी
सडक डिभिजन कार्यालयका अनुसार रत्न राजमार्गमा पहिरोसँगै चट्टान खसेको यो
सबैभन्दा जटिल अवस्था हो। वर्षायाममा वर्षेनी हर्रे र देउरालीमा पहिरो गए
पनि त्यसलाई सहजै हटाइन्थ्यो। यसपटक कहिल्यै पहिरो नजाने ठाउँमा चट्टान
खसेको छ। साँघुरो गल्लीमा चट्टान खसेकोले ब्लास्ट गर्न नमिल्ने हुँदा सडक
खोल्न झन् ढिलाइ भएको सव-इन्जिनियर शर्माले बताए। 'खुल्ला ठाउँ भए त
ब्लास्ट गरेर एकछिनमै सडक खोलिन्थ्यो,' उनले भने, 'दुवैतिर पहाडले घेरेको
ठाउँमा कसरी ब्लास्ट गर्ने?' सडक हटाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि
परिचालन गरिएको छ।
सडक अवरुद्ध भएपछि हिँडेर गन्तव्यतर्फ जाँदै यात्रु
रातिदेखि सडक अवरुद्ध भएपछि यात्रुहरुले सास्तिभोग्नु परेको छ ।
नेपालगन्ज, काठमाडौं लगायत ठाउँबाट आएका यात्रु बिहान ४ बजेदेखि सडकमै
बसेका थिए। उनीहरुलाई बिरेन्द्रनगरबाट गएका बसले 'डाँक बुझेर' गन्तव्यमा
पुर्याए। 'सडकमा यतिठूलो चट्टान खसेको त कहिल्यै देखेको थिइन,'
नेपालगन्जबाट आएकी सपना केसीले भनिन्, 'सडक कार्यालयले हटाउन ढिलाइ गर्दा
झमेला व्यहोर्नुपर्यो ।' सडक अवरुद्ध भएपछि अलपत्र यात्रु सडक किनारामा
खुद्रा पसलेसँग सामान किन्दै ।
No comments:
Post a Comment