Saturday, August 11, 2012

काठमाण्डौंमा सम्बन्धविच्छेद दोब्बर !

२७ साउन, काठमाण्डौं । राजधानी काठमाण्डौंमा पछिल्लो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या उच्च दरमा बढेको छ । काठमाण्डौं जिल्ला अदालतमा गत असार मसान्तसम्म एक हजार सात सय ४५ जोडीले निवेदन दिएकामा एक हजार दुई सय ७२ जोडी अलग भएका छन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अझै चार सय ६३ जोडीको मुद्दा विचाराधीन रहेको जिल्ला अदालत काठमाण्डौंका स्रेस्तेदार भरत लम्सालले जानकारी दिए । लम्सालका अनुसार सम्बन्धविच्छेद गरेकामध्ये ७० प्रतिशत प्रेमविवाह गरेका जोडी छन् । प्रेमविवाह गरेको तीन दिनमै सम्बन्धविच्छेद गर्नेको संख्या दर्जनौँ छ । ‘अन्यभन्दा प्रेमविवाहित जोडीको सम्बन्धविच्छेद मुद्दा दोब्बर छ,’ लम्सालले भने ।
ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्नेको संख्या अझ बढी छ । काठमाण्डौं जिल्ला अदालतभन्दा यस अदालतबाट चार सय बढीले सम्बन्धविच्छेद गरेका छन् । यहाँ असारसम्म परेका दुई हजार नौ सय १६ मुद्दामध्ये एक हजार ६ सय ७० जोडीले सम्बन्धविच्छेद गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा दैनिक तीनदेखि पाँच जोडीको सम्बन्धविच्छेद हुने गरेको स्रेस्तेदार लम्सालको भनाइ छ। उनीहरूमध्ये विदेशी नागरिकसँग विवाह गर्ने युवतीको संख्या धेरै छ । विकसित राष्ट्रमा समृद्ध जीवनयापन गर्ने सपना बोकी विदेशी र विदेशमा बस्ने नेपालीसँग विवाह गर्ने युवतीहरू विवाहको एक सातामै अदालतमा आउने गरेको लम्साललेबताए ।
१४ माघ ०६३ मा कैलालीकी निर्मला श्रेष्ठले पोर्चुगल बस्ने गेहेन्द्र शाहीसँग प्रेमविवाह गरिन् । प्रेमविवाह गरेको तीन दिनमै उनी सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालत पुगेकी थिइन् । उनको सम्बन्धविच्छेद मुद्दाले यसै वर्ष किनारा पाएको छ । गेहेन्द्रले विदेश लैजान नसक्ने जनाएपछि उनी सम्बन्धविच्छेदका लागि अदालत पुगेकी थिइन् । ‘यस्ता जोडीको संख्या सयभन्दा बढी छ,’ लम्सालले भने ।
अन्तरजातीय प्रेमविवाह गर्ने जोडीको सम्बन्धविच्छेद संख्या पनि उत्तिकै छ । काठमाण्डौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्ने अन्तरजातीय जोडी एक वर्षमा दुई सय २७ रहेका छन् । ५ मंसिर ०६१ मा ओखलढुंगाकी राधा सुनार र धापासीका ज्ञानबहादुर तामाङले अन्तरजातीय विवाह गरेका थिए । विवाहको पाँच वर्ष नपुग्दै उनीहरू सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा पुगे र अदालतले उनीहरूको सम्बन्धविच्छेद गराइदिएको खबर सौर्य दैनिकलेछापेको छ ।
केही समयका लागि नेपाल आएका विदेशी नागरिकसँग प्रेमविवाह गर्ने युवतीको संख्या पनि उल्लेख्य छ । विदेशी नागरिकसँग प्रेमविवाह गर्ने धेरै युवतीको अवस्था भने नाजुक छ । विदेशी नागरिकले यहाँ बसेसम्म पत्नीका रूपमा राख्ने र फर्किंदा उनीहरूलाईअलपत्र पारेर जाने गरेपछि यस्ता महिला सम्बन्धविच्छेदका लागि अदालत जान थालेका हुन् । यस्तै बिचल्लीमा परेकीमध्ये एक हुन्, कास्की सारङकोटकी विमला कमिनी । ०६१ मा जर्मन नागरिक आर्न बेन्जामिन साससँग प्रेमविवाह गरेकी उनका तीन सन्तान छन् । तर, आर्न०६७ मा उनलाई छाडी स्वदेश फर्केपछि उनी अलपत्र परेकी छन् ।
देशभरका अदालतबाट वर्षभरिमा साढे २८ हजार जोडीले सम्बन्धविच्छेद गरेको पाइएको छ । सर्वोच्च अदालतका अनुसार अघिल्लो आर्थिक वर्षमा २८ हजार चार सय २१ जोडीले सम्बन्धविच्छेद गरेका हुन् । यस आवमा सम्बन्धविच्छेदको संख्या ३० प्रतिशतले बढ्ने अनुमान सर्वोच्चले गरेको छ ।

No comments:

Post a Comment