काठमाडौ, श्रावण ३१ - कोटेश्वरको सुनचाँदी पसलका व्यापारीलाई धम्क्याएर ८ लाख रुपैयाँ माग्ने सातदोबाटो प्रहरी प्रभागका प्रहरी जवान चन्द्रबहादुर बुढा मगर प्रहरीको हिरासतमा छन् । उनले सुन व्यवसायी सरोजकुमार विकलाई फोनबाट धम्क्याएर रकम माग गरेका थिए ।
काठमाडौं प्रहरीमा घुमुवा रहेका हवल्दार राजकुमार तामाङ अपराधीसँग मिलेको आरोपमा पक्राउपरेका छन् । अपहरण, धम्की र फिरौतीमा फरार रमेश बाहुन भनिने सुजन पौडेलसँग मिलेमतो रहेको भेटिएपछि पक्राउ गरिएको थियो । गैरीधाराका एक ठेकेदारसँग ८ लाख रुपैयाँ उठाउन गएका बेला तामाङ रंगेहात समातिएका थिए ।
महानगरीय प्रहरी प्रभाग कमलपोखरीका घुमुवा प्रहरी हवल्दार भीमबहादुर बस्नेत र डीबी तामाङ लागूऔषध कारोबारीलाई छाडेर पैसा खाएको अभियोगमाथुनामा छन् । लागूऔषध कानुन कार्यान्वयन इकाई नयाँ बानेश्वरले उनीहरूमाथि मुद्दा चलाएको छ ।
आपराधिक गतिविधि नियन्त्रण गर्न तल्लो तहको सूचना संकलनका लागि खटाइएका प्रहरी नै अपराधमा संलग्न भएका यी केही उदाहरण हुन् । सादा पोसाकमा खटिने यस्ता 'घुमुवा' को आपराधिक व्यवहारले छवि सुधार्ने प्रयासमा रहेको नेपाल प्रहरीलाई फेरि बदनामतिर धकेल्दै लगेको छ । पोसाकमा आपराधिक सूचना पाउन असजिलो हुने भएपछि सुराकीका लागि सादा पोसाकका प्रहरी खटाउने गरिन्छ । तर उनीहरूको आर्थिक लालचले समस्या निम्त्याएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
'नयाँ कार्यालय प्रमुख जानेबित्तिकै कार्यालयमाघुमुवा कति छन् ? के काम गर्छन् ? पैसा कति उठाउन सक्छन् जस्ता विवरण राख्ने गरेका छन्,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक प्रहरी अधिकृतलेभने, 'बाहिर इमानदारिताको खोल ओढेर सादा पोसाकमा पैसा उठाउन लगाउँछन् ।'
यस्ता घुमुवा र अन्य केही प्रहरी कर्मचारीका कारण महानगरीय प्रहरी अचेल बदनाम हुन थालेको छ । घुमुवा र साना कर्मचारी बिग्रनुुमा कार्यालय प्रमुख वा उसको कमान्डर नै दोषी हुने पूर्व एअाईजी केशव बराल बताउँछन् । 'घुमुवालाई कुन उद्देश्यका लागि परिचालन गर्ने हो, त्यो कमान्डरको हातमा हुुन्छ, उसले जे काम अह्रायो, घुमुवाले त्यही काम गर्छ,' बरालले भने, 'एउटा सिपाही हवल्दारलाई आर्थिक लालच देखाएर बिगार्नेउसको हाकिम नै हो ।'
कुनै जिल्लामा डीएसपी वा एसपी हुँदा राखेको घुमुवा डीआईजी र एआईजी हुँदा समेत निरन्तरता दिइराखेको पाइएको छ । बरालले महँगी र खर्चको अनुपातमा आम्दानी नभएका कारण पनि तल्लो तहका प्रहरीहरू यस्ता आपराधिक गतिविधिमा लाग्ने बताए। हाकिमलाई रिझाउन घुमुवाले घरायसी कामदेखि गैरकानुुनी धन्दाबाट पैसा उठाउने समेत गरिरहेकोपाइएको छ ।
घुमुवाका कारण प्रहरी संगठन बदनाम हुन थालेपछि गृह मन्त्रालयले अनुसन्धान गर्ने निकायबाहेक अन्यले सादा पोसाकमा प्रहरी परिचालन नगर्न र विशेष काम परे निश्चित समयका लागि माथिल्लो कार्यालयबाट आदेश लिएर मात्र राख्न भनेको थियो । व्यवहारमा त्यस्तो देखिएको छैन । बरालका अनुसार इमानदार
भएर काम गर्दा घुमुवाको जिम्मेवारी जोखिमपूर्ण हुन्छ । गुन्डा, क्याम्पस र अन्य इलाकाबाट सूचना संकलनको जिम्मेवारी पाए पनि उनीहरू गुन्डाको एउटा पक्षसँग मिलेर अर्कोलाई लखेट्ने र संरक्षण दिने काम गर्ने गरेको आयुक्तका ती अधिकारीले बताए ।
काठमाडौंमा परिचालित हुने घुमुवाले अवैध विदेशीमुद्राको कारोबार, हुन्डी, रेस्टुरेन्ट, डिस्को, बार, जुवा-तास खेलिने स्थान र आर्थिक लेनदेनका घटनामा प्रत्यक्ष संलग्न भएर पैसा उठाउने गर्छन् । चन्दा असुली, हतियार बेचबिखन, अपहरण र डकैती सम्मका घटनामा घुमुवा प्रहरीको संलग्नता देखिने गरेको छ ।
व्यक्तिपिच्छे घुमुवा
काठमाडौं प्रहरीमा घुमुवाका ३ वटा टोली सक्रिय छन् । डीएसपी कमान्डर हुने गरी 'इन्टलिजेन्स शाखा' छुट्टै हुँदाहुँदै पनि कार्यालय प्रमुख एसएसपी र अन्य डीएसपीको पनि घुमुवा रहेको भेटिएको छ । डीएसपी आभूषण तिम्सिनाको कमान्डमा 'इन्टलिजेन्स' शाखा छ । उनी र उनको टिमले काठमाडौंमा भएका र हुन लागेका आपराधिक गतिविधिको सूचना संकलन गर्ने हो । त्यही सूचनालाई विश्लेषण गरेर घटना हुन नदिनु हो ।
त्यति हुँदाहुँदै पनि कार्यालय प्रमुख एसएसपी जयबहादुर चन्दले सिपाही खड्गबहादुर तामाङ र डम्बर थापालाई घुमुवा राखेका
छन् । यस्तै, डीएसपी धीरजप्रताप सिंहले असई गोकर्ण नेपाललाई आफ्नो घुमुवाको रूपमा परिचालन गरेका छन् । काठमाडौं प्रहरीमा घुमुवा राख्ने परम्परा सुरु भएको धेरै भएको छैन । एसएसपी नवराज सिलवाल काठमाडौं प्रहरी प्रमुख भएका बेला २०६६ असोजमा इन्टलिजेन्सका रूपमा प्रयोग गरेका थिए । प्रहरी निरीक्षक कुमोद ढुंगेलको कमान्डमा ९ जनाको टोली तयार भएको थियो । त्यो टिमले त्यसपछिका कार्यालय प्रमुुख गणेश केसी, रमेश खरेल, पुस्कर कार्कीसँग काम गर्यो । केदार रिजालगएपछि भने इन्टलिजेन्समा डीएसपीको टिम खटिएको हो । सूचना संकलनको कमान्डर डीएसपी बनाइए पनि घुमुवा भने आ-आफ्नै छन् ।
No comments:
Post a Comment