Wednesday, August 15, 2012

कतार छोडेर गाउँमै लाखौं आम्दानी

३१ साउन , प्यूठान । रम्दि-२ तिग्राका नारायण प्रसाद आचार्य रोजगारको शिलशिलामा कतारमा ७ वर्ष बस्नुभयो । कमाई पनि राम्रै गर्नुभयो । तर कतार दोहाको रेडिमेक्स कम्पनिमा काम गर्नुभएका आचार्य यतिखेर आफ्नै गाउँमै फर्केर कुखुरापालन ब्यवसायमा लाग्नुभएको छ ।
आचार्यले विदेशमा कमाएको धन गाउँमा ल्याएर लगानी गर्नुभएको हो । मासिक ७० हजार सम्म नेपाली रुपैयाँ कमाई गर्नुहुने आचार्यलाइ कतारमै कमाएको पैसाले खान पुग्छ, उहाँले भन्नुभयो, ‘गाउँमा रहेका बेरोजगार युवाहरुलाई सिको होस भनेर म यता लागेको हुँ ।’
घरपरिवारको साथमा उहाले व्यावसाय गर्दै आउनुभएको छ । गाउँलेहरु पनि आचार्यको काम देखेर सबैजना दंग छन् । उहाँको श्रीमति पनि शहरको मोह छोडेर श्रीमानसँग गाउँमैकाम गर्दै आउनुभएको छ । केहिँ गरेर देखाउने उहाँ (पति) को चाहनालाई साथ दिन पाउँदा खुसी लागेको छ, उहाँले भन्नुभयो, ‘सहरमुखी हाम्रो समाजलाई बाटो मात्रै देखाउनेकाम हामीले गाउँबाट सुरु गरेका हौं ।’ गाउँमा मासु उत्पादनका लागि सबैले ब्रोइलर कुखुरा पाल्दै आएकामा उहाँले भने अण्डा उत्पादनका लागि भनेर लेयर्स जातका कुखुरा पाल्न थाल्नुभएको छ ।
एक वर्षअघि बिदेशवाट फर्केर करिब २६ लाखको लगानीमा २७ सय लेयर्स जातका कुखुराबाट ब्यवसाय थाल्नुभएको हो । सुरुमा उहाँले ब्यवसायिक रुपमा बाख्रापालन थाल्नुभएको थियो । बाख्रापालनबाट कमाइ ढिला हुने भन्दै कुखुरापालन ब्यवसाय पनि सँगै गर्न लाग्नुभएको हो ।
उहाका अनुसार हाल कुखुराले पछिल्लो ३ महिनादेखि दैनिक सरदर २ हजार ४ सय अण्डा दिदै आएको छ । अण्डाबाट दैनिक १८ हजार कमाई हुँदै आएको छ । मासिक १ लाख ६० हजारसम्म बचत हुने गरेको आचार्यले जनाउनुभयो । उहाँका अनुसार यो जातको कुखुराले १५ महिनासम्म लगातार अण्डा दिन्छ भने अबको एक वर्षसम्म नियमित कुखुराको अण्डाबाट मात्रै आम्दानी हुनेछ ।
लगनशील भएर गरिखाने नेपालीलाई गाउँमै कमाइका थुप्रै स्रोत रहेको उहाले बताउनुभयो । विदेश जान लागेकाहरुलाई समेत आफ्नै गाउँमा मिहिनेत गरे परिश्रमको फल मिठो हुने उहाको विश्वास छ ।
बिदेश जाने रकमले आफ्नै देशमा थोरै लगानीबाट राम्रो आम्दानी हुनसक्ने उहाँको अनुभवबाट बिदेश मोह छोडेर गाउँमै ब्यवसाय गर्नु जिल्लावासीलाई प्रेरणाको स्रोत बनेको छ ।

No comments:

Post a Comment