Thursday, August 30, 2012

गोताखोर टोली अब नेपालमै

कुरिनटार, भाद्र १४ - पानीभित्र दुर्घटना हुँदा उद्धारका लागि मोटो रकम खर्चेर बंगलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता अब हट्ने भएको छ । पानीबाट उद्धारका लागि गोताखोर जनशक्ति नेपाल मै तयार भएपछि यो बाध्यता हटेको हो ।
दुई प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको गोताखोर टोली सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा तयारी अवस्थामा छ । दुई महिनाअघि बंगलादेशको चितागाउँमा तालिम लिई पानीमुनिको उद्धारकर्ता 'गोताखोर' जनशक्ति नेपाल मा पहिलोपटक तयार भएको हो।
'उनीहरू मध्यम वर्गका गोताखोर हुन्,' तालिम केन्द्रका सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दुर्गाबहादुर कुँवरले भने, 'पानीमुनि १ सय ९० फिटसम्म गएर उद्धार तथा शव उल्खनन् गर्न यो टोलीले सक्छ ।' कुँवरका अनुसार आवश्यक सामग्री अभावमा तत्काल टोलीले काम थालेको छैन । 'उनीहरूलाई तालिमको लगानी यूएनडीपीले गरेको हो,' कुँवरले भने, 'उसैको लगानीमा गोताखोरलाई आवश्यक सामग्री पनि आउँदैछ । त्यसपछि टोलीले काम गर्न सक्छ ।'
एक महिनाभित्र आवश्यक सामग्री ल्याउने तयारी छ । कुँवरका अनुसार एक सशस्त्र प्रहरीलाई १२ लाख खर्च गरी यूएनडीपीले गोताखोर तयार पारेको हो । 'तीन करोडभन्दा बढी खर्च भइसकेको छ,' कुँवरले भने, 'त्यति नै रकम लगानीमा सामग्री आउँदैछ ।' गोताखोरको कमान्ड प्रहरी निरीक्षक वीरेन्द्र खनाल र पुरुषोत्तम भण्डारीले गरेका छन् । साथमा तीन प्रहरी सहायक निरीक्षक र अन्य दर्जाका २० सशस्त्र प्रहरी छन् । टोलीलाई नेपाल मा जल क्ष्ाेत्रमा बढी दुर्घटना हुने मुख्य तीन ठाउँमा तैनाथ राखिनेछ । 'राप्ती, कोसी र त्रिशूली नदीलाई पायक पर्ने ठाउँमा तीन टोली बनाई उद्धारका लागि तैनाथ राख्ने तयारी भइरहेको छ,' कुँवरले भने, 'उनीहरूले त्यस क्ष्ाेत्रका अन्य सशस्त्र प्रहरीलाई पनि गोताखोरको आधारभूत तालिमगराउने छन् ।' अहिले गोताखोर तालिम केन्द्रमा प्रशिक्ष्ाक प्रशिक्षणको तयारी गरिरहेका छन् ।
'प्रशिक्षक तालिम पूरा भएपछि सामान झिकाएर खटाइनेछ,' कुँवरले भने । टोलीले दुई महिना लगाएर बंगलादेशमा पौडी, डाइभिङ, जम्प हाइट, चेम्बरको प्राविधिक ज्ञान, जल क्ष्ाेत्रका सामाग्री कटिङलगायत विषयमा तालिम लिएको हो । तालिमपछि टोली पानीमा एक मिनेट सास नफेरी बस्ने, पानीमै पाँच किलोमिटर एकनासले पौडी खेल्न सक्ने, लामो उचाइबाट पानीमा हाम फाल्न सक्ने, पानीमुनिका ढुंगा र अन्य अवरोध कटिङ गरी अवरोध हटाउनेलगायत ज्ञान लिएको सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्रखनालले बताए । 'पानी जमेको ठाउँमा बढी सजिलो हुन्छ,' निरीक्षक खनालले भने, 'बगेर ठूलो करेन्ट प्रवाह भएको ठाउँमा उद्धार गर्नका लागि थप तालिमको आवश्यकता छ ।'
'बाँच्ने आशा मरेको थियो'
मेरो घर सर्लाही हो । दुई छोरा र श्रीमती छन् । श्रीमती भरतपुर क्यान्सर अस्पतालमा जागिर गर्छिन् । सशस्त्र प्रहरीमा जागिर खाएको ७ वर्ष बित्यो । जस्तोसुकै भए पनि तालिम भन्नेबित्तिकै अघि सर्न मन लाग्छ । गोताखोर तालिमका लागि पनि हाम्रो संगठनले चैत अगाडि आह्वान गर्‍यो । त्यसका लागि रुचि देखाएँ । परीक्षा दिएँ । समयले साथ दियो, तालिममा जान म पनि छनोट भएँ ।
वैशाख ३० गते म लगायत २५ जनाको टोली बंगलादेश तालिमका लागि हिँड्यौं । बंगलादेशका गोताखोरले चितागाउँमा दुई महिनाको तालिम दिन सुरु गरे । सुरु सुरुमा त निकै रमाइलो भयो । खासै अप्ठ्यारो लागेन । तालिम सकेर यता र्फकनुभन्दा दुई हप्ताअघिको कुरा हो, हामीलाई स्थानीय 'हिल एरिया' भन्ने ठाउँमा तालिमका लागि लगियो । त्यो तालिम गर्ने ठूलो ताल रहेछ । गहिराइ करिब दुई सय फिट थियो ।
शरीरमा लगाउने सम्पूर्ण सामग्री र दुई ग्यासका सिलिन्डर लिएर तालमा हाम फालियो । अन्य साथी पनि सँगै फाल हाले । करिब सय फिट तल गएपछि एक्कासि मेरो अक्सिजन ग्यास सकियो । अर्को ग्यासको सिलिन्डर खोलें, त्यसले पनि काम गरेन । मैले पानी खान थालेछु । मसँग डोरीको 'कनेक्सन' हुने गरी अन्य दुई साथी पनि गएका थिए । अब आपत् पर्‍यो भनेर आपत् पर्दा अपनाउने 'टेक्निकल' उपाय अपनाउन थालें ।
शरीरमा पानी खाएर मात्रा बढ्दै गएपछि 'टेक्निकल' कुराले पनि काम गरेन । मेरो शरीर झन् तल झन् तल हुँदै गयो । सास फेर्न निकै गाह्रो भयो । अँध्यारो थियो, केही देखिँदैनथ्यो । शरीर कडा हुँदै गयो । अब बाँच्न सकिनँ भनेर घरपरिवार सबै सम्झें । दुई नाबालक छोराको चिन्ताले निकै सतायो । म तलतल बग्दै गएको र उपकरणले काम नगरेको साथी नरकुमार आचार्यले थाहा पाएछन् । उनी मेरो डोरीको 'कनेक्सन' मार्फत मलाई बचाउन आए । पानी खाँदै म ३० फिट माथि आएछु, साथी नरकुमारको सहयोगमा । त्यसपछिमैले केही थाहा पाइनँ । चार घन्टापछि मेरो होस खुल्यो । यदि साथीको पनि डोरी 'फल्ट' भएर काम नगरेको भए बाँच्ने थिइनँ । मैले अहिलेसम्म सात वटा तालिम लिइसकें । यो आठौं तालिम हो । अहिलेसम्मकै निकै अप्ठ्यारो तालिम मैले यो मानेको छु । गोताखोरको तालिम निकै गाह्रो लाग्यो । तालिम गर्दा त यति गाह्रो, उद्धार गर्दा कति समस्या होला भन्ने लाग्यो । तर जागिर खाएपछि त्यसो भनेर नहुने । आवश्यक सबै सामग्री भए नेपाल का जुनसुकै ठाउँमा हुने जल क्षेत्रसम्बन्धी दुर्घटनामा उद्धार गर्न सक्ने विश्वास तालिमले दिलाएको छ । नेपाल ीको सेवाका लागि खाएको जागिर हो।

No comments:

Post a Comment