सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धमेन्द्र बास्तोलाले एनेकपा माओवादी भारतले फुटाएको आरोप लगाएका छन् । राष्ट्रिय स्वाधीनताका लागि माओवादीले भारतविरुद्ध वैचारिक तथा राजनीतिक संघर्ष चलाएकै कारण अनेक किसिमका षड्यन्त्र गरी पार्टी फुटाएको उनको जिकिर थियो ।
नेपाली जनसरोकार समाज हङकङद्वारा आइतबार यहाँ आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । एनेकपा माओवादी विभाजनपछि हङकङ आउने उनी पहिलो केन्द्रीय स्तरका नेता हुन् । भारतले नेपालको राजनीतिलाई दिगभ्रमित पार्ने काम गरिरहेको समेत उनको आरोप थियो । 'स्वयं राष्ट्रपतिले समेत सबै खेल उतैबाट भएको बताउनुभएको छ', निकै आक्रोशित देखिएका बास्तोलाले भने, 'बाहिर नेपालको विकास होस्, सबल सरकार बनोस् भन्ने बताए पनि भारतीय केही नेताहरूको मनसाय यस्तो छैन ।' साम्राज्यवादी र विस्तारवादी सोच राख्ने भारतले कांग्रेस, एमाले र मधेशवादी दलहरूलाई पनि ध्वस्त पारेको उनको थप आरोप थियो ।
धेरैअघिदेखि माओवादी पार्टीलाई हाइज्याक गर्ने प्रयत्न गरेको भारतले अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको सहयोग पाएपछि मनसाय सफल भएको उनले बताए । एयरपोर्ट निर्माणको ठेक्का, बिप्पा लगायताका सम्झौता यसैका श्रृंखला भएको उनको दाबी थियो । 'दुई नेताले भित्र भारतीय विस्तारवादसँग सहमति गर्ने तर बाहिर क्रान्ति भन्दै जनता र पार्टीलाई भ्रमित पार्ने काम गरिरहेका छन्', नेता बास्तोलाले प्रचण्ड र बाबुरामलाई कुनै स्पष्ट अडान, नीति र उद्देश्य नभएका नेताको आरोप लगाउँदै भने, 'यसैले नयाँ पार्टीले राजनीतिक दिशा दिओस् भन्ने जनताको अपेक्षा छ ।'
कांग्रेस, एमालेले प्रचण्डले संघीयता दिन चाहँदैनन् भन्दा पहिले नसुनैझै गरेका भए पनि अहिले सत्य सावित भएको समेत उनले बताए । 'माओवादीले प्रधानमन्त्री बनाउनु अघि नै भारतसँग मिलेर बाबुरामलाई प्रधानमन्त्री बनाउने तय भइसकेको रहेछ', पूर्व राजदूत राकेश सुदले यसमा मध्यस्थकर्ताको भूमिका खेलेको बताउँदै उनले भने, 'अनेक किसिमका षडयन्त्र र तिकडम गरेर हामीलाई धोबीघाट बैठकमा पुर्याइएकोपछि मात्र खुलस्त भो ।'
बाबुरामले जसरी भए पनि प्रधानमन्त्री र प्रचण्डले राष्ट्रपतिको सिट सुरक्षित राख्ने कसरतमा लागेको समेत उनले बताए । भाषणको अधिकांश समय भारतविरुद्ध खर्चेका उनले त्यहाँका नेताहरूलाई दिल्ली भ्रमणका बखत नेपाललाई लक्जमर्बगजस्तो भएर बस्न दिन आग्रह गरेको सुनाए । 'दक्षिणतर्फ शक्तिशाली फ्रान्स र अर्कोतर्फ विशाल जर्मनी भएको सानो मुलुक लक्जमर्बग शान्त र विकसित छ, नेपाल के त्यस्तो हुन सक्दैन ?', उनले थपे । चीनलाई असल मित्र बताउँदै उनले भारतसँग जेजस्तो सुकै तिक्तता भए पनि समस्याका विषयहरूमा छलफल गर्न सकिने बताए ।
अर्को एक प्रसंगमा उनले राजनीतिक सहमति नभई हुने कुनै पनि कदमले मुलुकलाई भडखालोमा धकेल्ने बताउँदै यसो भए पार्टी-पार्टी बीच काटामारको स्थिति पैदा हुनसक्ने चिन्ता व्यक्त गरे । 'यो कदमले देशलाई विध्वंसको बाटोमा लैजान सक्छ', उनलेथपे । पार्टी फुटेको कुरालाई कतिपयले नाटक भन्ने गरेको बताए पनि त्यसो नभएको उनको भनाइ थियो । 'पार्टी धेरै पहिले चर्किसकेको रहेछ भेउ पाइएन,' उनले भने, 'थाहा पाएर लिपपोत र टालटुल गर्दा स्थिति बिग्रिसकेको रहेछ ।' नेपालमा माओवादी फुटको असर हङकङमा पनि प्रत्यक्ष देखियो । केन्द्रीय नेताहरू आउँदा सक्रिय रहने थुप्रै स्थानीय नेताहरू मोहन वैद्य पक्षधर बास्तोलाका कार्यक्रममा उपस्थित थिएनन् ।
No comments:
Post a Comment