Wednesday, August 29, 2012

बैदेशिक रोजगारीमा ठगी गर्नेलाई छाडिन्नःप्रधानमन्त्री

१३ भदौ, दोहा । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बैदेशिक रोजगारीमा ठगी गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको निवासमा आयोजित जनप्रगतिशील मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा आउने नेपाली युवालाई ठगी गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’रोजगारीको खोजीमा आउने युवाहरूलाई ठगी गर्नेहरूलाई कुनै पनि हालतमा छाडिंदैन, त्यस्ता व्यक्तिहरूलाई कारबाही गरिन्छ ।’
आफ्नो एक वर्षको कार्यकाल सफल भएका बताउँदै प्रधानमन्त्री भट्टराईले जनताको सम्पूर्ण चाहनालाई भने पूरा गर्न भने नसकिएको स्वीकार गर्नुभयो । नेपालभित्रै रोजगारी र आर्थिक समृद्धिको योजना ल्याएर सबै युवालाई रोजगारी दिन सके वैदेशिक रोजगारीमा आउनु नपर्ने बताउनुभयो ।
यसैबीच कतारस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री डा भट्टराईले दूतावासको भौतिक संरचनामा सुधार ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेका बताउनुभयो । उहाँले बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्था आउन नदिन सरकार सचेत रहेको र दशौं लाख युवालाई रोजगारी दिन पहल भइरहेको बताउनुभयो । लगानी बोर्डमार्फत वैदेशिक लगानी आकर्षण गर्ने काम अगाडि बढाइएको जानकारी दिँदै उहाँले दुईपक्षीय लगानी बढाउन कतार सरकारसँग पहल गरिने बताउनुभयो ।
कतारका लागि नेपालका राजदूत शर्माले दूतावासले नेपालीले पाएको दुःख र पीडालाई गर्न प्रयास गरिरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment