Friday, August 10, 2012

अमेरिका तस्करी हुँदै गरिएका नेपाली कोस्टारिकामा समातिए

सुरेन्द्र पौडेल, काठमाडौं, साउन २६ -मानव तस्करहरूले अमेरिका लैजाँदै
गरेका ७ जना नेपाली ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिका र पानामाकोसीमामा
पक्राउ परेका छन्। कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले एक
विज्ञप्ति जारी गरी गैरकानुनी रूपमा छिरेका सात नेपाली पक्राउ गरेको
पुष्टि गरेको छ। तस्करहरूको प्रलोभनमा परी अमेरिका हिँडेका हजारभन्दा बढी
नेपाली ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, बोलिभिया, चिली र इक्वेडरमा
अलपत्र परेको खबर आएका बेला आइतबार पानामाबाट कोस्टारिका प्रवेश गरेका
उनीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो।
नेपालीका साथमा एक कोस्टारिकन नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको
मन्त्रालयको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एमएसपी डट गोडट
सिआरमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ। नेपाली नागरिकको तस्करी गरेको
आरोप पक्राउ परेका कोस्टरिकन नागरिक लिडजामा रुइजलाई लगाइएको छ।
पानामा सीमानजिक कोस्टारिकाको दक्षिणी भागमा गुडिरहेको ट्रक सुरक्षा जाँच
गर्ने क्रममा सात नेपालीसहित एक कोस्टारिकन नागरिक फेला परेको
विज्ञप्तिमा उल्लेख छ। नेपालीलाई राखी निकारागुवातर्फ गुड्दै गरेको ट्रक
कोस्टारिकन नागरिकले नै चलाएका थिए। पक्राउ परेका नेपालीको नाम र ठेगाना
भने खुलाइएको छैन।
'जसरी विदेशी यहाँ आएर पक्राउ परेका छन्, उनीहरूसँग प्रहरीले लिएको
बयानका आधारमा घटना मानव तस्करी नै हो भन्ने देखिन्छ,' सात नेपाली पक्राउ
परेपछि कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा
छ, 'उनीहरू दक्षिण अमेरिकाका विभिन्न राष्ट्र पार गरी कोस्टारिकाको सान
जोसतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्।'
पक्राउ परेका नेपालीलाई दक्षिण कोस्टारिकाको एकप्रहरी चौकीमा राखिएको
मन्त्रालयले उल्लेख गरेको छ। अध्यागमनसम्बन्धी ऐनअनुसारका कागजात
नमिलेसम्म उनीहरूलाई त्यहीं राखिने मन्त्रालयले जनाएको छ। नेपालीसँगै
पक्राउ परेकाकोस्टारिकन नागरिकलाई पनि सँगै राखिएको छ। नेपालीको तस्करी
गरेको आरोप प्रमाणित भए ती कोस्टारिकन नागरिकलाई ८ वर्ष जेल सजाय हुने
बताइएको छ।
कोस्टारिका वैदेशिक रोजगारीको गन्तव्य नभए पनि मानव तस्करहरूले अवैध
रूपमा अमेरिका पुर्यारउन प्रयोग गर्ने रुटमा पर्छ। तस्करहरूले अमेरिका
छिराउन नेपालीलाई काठमाडौंबाट कतारको दोहा, दोहाबाट ब्राजिल, ब्राजिलबाट
बोलिभिया, बोलिभियाबाट पेरु, पेरुबाट इक्वेडर, इक्वेडरबाट कोलम्बिया,
कोलम्बियाबाट पानामा, पानामाबाट कोस्टारिका, कोस्टारिकाबाट निकारागुवा,
निकारागुवाबाट होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला, ग्वाटेमालाबाट मेक्सिको
हुँदै चोरबाटो अमेरिका छिराउने गरेका छन्।
तस्करहरूले नेपालीलाई काठमाडौंबाट दोहा, दोहाबाट ब्राजिल र ब्राजिलबाट
बोलिभिया हवाईजहाजबाट र बोलिभियाबाट मेक्सिकोसम्म सडकमार्गबाट लैजाने
गरेका छन्। मेक्सिकोबाट भनेचोरबाटो प्रयोग गरी जल तथा स्थलमार्ग हुँदै
अमेरिका छिराउने गरेका छन्। यसरी काठमाडौंबाट अमेरिका छिराउँदा तीन
महिनासम्म लाग्छ।
मानव तस्करको प्रलोभनमा अमेरिका हिँडेका हजारभन्दा बढी नेपाली अहिले
ब्राजिल, चिली, बोलिभिया र इक्वेडरमा अलपत्र परेका छन्। तस्करहरूले
अमेरिका प्रवेश गराउने भन्दै प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिने
गरेको अलपत्र परेकाले नै स्वीकार गर्दै आएका छन्।
परराष्ट्र मन्त्रालयले कोस्टारिका लगायत ल्याटिन अमेरिकी राष्ट्रमा
अलपत्र हजारभन्दा बढी नेपालीबारे कुनै जानकारी नभएको जनाएको छ। बिहीबार
सार्वजनिक विदा परेकाले उनीहरूबारे बुझ्न नसकिएको परराष्ट्र प्रवक्ता
अर्जुनबहादुर थापाले बताए।
'अलपत्र परेकाबारे अखबारमा आएको जानकारीमात्र हामीसँग छ,' थापाले भने,
'यसबारे यथार्थ बुझ्न भोलि (शुक्रबार) ब्राजिलस्थित हाम्रो दूतावासलाई
औपचारिक रूपमा भन्नेछौं।'
नेपाली अलपत्र रहेको चिली, इक्वेडर, बोलिभिया हेर्न विभिन्न दूतावासलाई
ती देशको समेत सहप्रमाणीकरणको जिम्मा दिइए पनि कोस्टारिका हेर्न कुनै
दूतावासलाई जिम्मेवारी दिइएको छैन। न्यूयोर्कस्थित नेपाली स्थायी
नियोगलाई दिइएको कोस्टारिकाको सहप्रमाणीकरण जिम्मेवारी २०६७ पुसमा
हटाइएको थियो। यसकारण पनि कोस्टारिकामा पक्राउ परेका नेपालीको उद्धारमा
कठिनाइ हुने बताइएको छ।

No comments:

Post a Comment