Tuesday, August 14, 2012

‘खुमबहादुर खड्काले मुद्दा जिते अबिरजात्रा, हारे चक्काजाम’

३० साउन काठमाडौं । पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन पूर्वगृहमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दामाथि सम्भवत: आज (मंगलबार) फैसला हुँदै छ । यसैबीच, मुद्दा फैसलालाई प्रभावित पार्न दाङ र नवलपरासीबाट उनका दुई सयभन्दा बढी समर्थक राजधानी भित्रिएका छन् ।
नेपाली कांग्रेस दाङ जिल्ला सभापतिसहित डेढ सय नेता–कार्यकर्ता तीनवटा बस रिजर्भ गरेर ‘फैसला सुन्न’ राजधानी आएका हुन् । त्यसैगरी नवलपरासी र अन्य मध्यपश्चिमका जिल्लाबाट पनि दर्जनौँको संख्यामा आएको स्रोतले बताएको छ । कुनै जिल्लाबाट बस नै रिजर्भ गरेर त कतैबाट समूह–समूह भएर नेता–कार्यकर्ता राजधानी आएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
०४८ सालदेखि पटक–पटक मन्त्री बनेका खड्काले गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सर्वाेच्च अदालतमा भ्रष्टाचारको मुद्दा चलिरहेको छ । सो मुद्दामा सफाइ पाए काठमाडौंदेखि दाङसम्म अबिरजात्रा गर्ने समर्थकको योजना छ । तर, फैसलाले खड्कालाई दोषी ठहर गरे चक्काजामदेखि अन्य विरोधका कार्यक्रम गर्ने योजना रहेको एक कार्यकर्ता बताउँछन् । नेपाली कांग्रेस दाङ जिल्ला सभापति घनश्याम रेग्मीले भने कुनै योजना नबनाई राजधानी आएको दाबी गरे । उनले भने, ‘साथीहरू स्वत:स्फूर्त रूपमा आउनुभएको छ, हामीले योजना नै बनाई राजधानी आएका र ल्याएका छैनाँ ।’
०४७ सालपछि पटक/पटक मन्त्री बनेका खड्काले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ । अख्तियारले ४ कात्तिक ०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी र सदस्य न्यायाधीश कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर जवराले २९ कात्तिक ०६३ मा खड्कालाई सफाइ दिएका थिए ।
अख्तियारले दुई करोड ३६ लाखभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरे पनि विशेष अदालतले १२ लाख बराबरको सम्पत्तिको मात्र स्रोत नखुलेको फैसला सुनाएको थियो । खड्काले १२ लाख मात्र अनियमितता गरेको ठहर भए पनि उनलाई सफाइ दिइएको थियो । फैसलामा भनिएको थियो, ‘मिसिलमा संलग्न सबुत प्रमाणबाट खड्काले वैध आयस्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा उनले दाबीको कसुर गरेको नठहरी सफाइ पाउने ठहर्छ ।’
विशेष अदालतले खड्कालाई सफाइ दिने फैसला सुनाएपछि अख्तियार पुनरावेदनका लागि सर्वाेच्च पुगेको हो । अख्तियारले १५ चैत ०६३ मा खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको पुनरावेदन गर्‍यो । तर, पुनरावेदन गरेको चार वर्षसम्म मुद्दाले प्राथमिकता नै पाउन नसकेपछि अन्तिम फैसला लम्बिएको हो । खड्काले आºनो बचाउका लागि दर्जनौँ प्रभावशाली कानुन व्यवसायी प्रयोगगरेका छन् । उनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, बद्रीबहादुर कार्की, बार अध्यक्ष प्रेमबहादुर खड्का, शेरबहादुर केसी र भीमार्जुन आचार्यले बहस गरेका थिए ।
अख्तियारले स्रोत नखुलेको दुई करोड ३६ लाख रुपियाँ बराबर सम्पत्ति देखाएपछि त्यसको बचाउ गर्न खड्काले कृषि आम्दानी, मन्त्री हुँदा विदेश भ्रमणबाट बचेको रकम र श्रीमतीको माइतीतर्फबाट आएको दाइजोलाई मुख्य आयस्रोतका रूपमा दाबी गरेका छन् । उनले मन्त्री पदमा रहँदा भत्ता, पत्रपत्रिका, धारा, बिजुली, टेलिफोन, निर्वाचन क्षेत्र भ्रमण, घर सफाइबापत राज्यबाट लिएको रकम पनि आºनो आम्दानीको स्रोतमा उल्लेख गरेका छन् ।
भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा परेको ९० दिनभित्र फैसला हुनुपर्ने हो तर सर्वोच्चको बेवास्ताका कारण खड्काको मुद्दा पाँच वर्षपछि छिनोफानो हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले वर्षां लामो बहसपछिउनको मुद्दाको अन्तिम किनारा लगाउने मिति तय गरेका थिए । आजको शौर्य दैनिकले समाचार छापेको छ ।

No comments:

Post a Comment