काठमाडौं, साउन २८ (नागरिक) - चालिस हजार नदिएको आवेगमा हँसियाले घाँटीमा हानेर थानकोटका महेश बलामीले आफ्नै आमाको हत्या गरेका छन्। शनिबार बिहान ६ बजे थानकोटको टेकानपुरमा २४ वर्षका बलामीले हँसियाले हानेर ५० वर्षीया गंगामाया बलामीको हत्या गरेका हुन्।
प्रहरीका अनुसार मानसिक रोगी महेश र उनकी आमाबीच शनिबार बिहानै पैसाको विषयमा विवाद भएको थियो। चार वर्ष कतार बसेर आएका विवाहित उनले आमासँग ४० हजार रकम माग्दै झगडा गरेका थिए।
त्यत्रो पैसा आफूसँग छैन भन्दै गंगामायाले पैसा दिन नसक्ने बताएपछि आवेगमा आएका उनले आमालाई हँसियाले हानेका थिए। हँसिया उनको घाँटीमा लागेको थियो। घटनालगत्तै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि महानगरीय प्रहरी प्रभाग थानकोटको प्रहरी गएर बलामीलाई नियन्त्रणमा लिएको थियो।
घाइते भएका गंगामायालाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। अधिक रक्तश्रावका कारण बिहान सवा सात बजे उपचारकै क्रममा उनको निधन भएपछि प्रहरीले महेशलाई हत्या अभियोग लगाएर हिरासतमा राखेको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख टेकबहादुर तामाङका अनुसार घरायसी विवादमा हत्याभएको देखिन्छ। दाजु, भाउजु र बुबासँगै बस्दै आएका महेश विवाहित हुन्। उनको सन्तान भने छैनन्। 'अहिलेसम्मको अनुसन्धानमा पैसा माग्दा नदिँदा आवेगमा आएर हँसियाले हान्दा हत्या भएको देखिन्छ,' तामाङले भने, 'हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएका छौं।'
No comments:
Post a Comment