Tuesday, June 12, 2012

दातृ निकायका प्रतिनिधिसँग अर्थमन्त्री पुनले भने : सहयोग जारी राख्‍नुस्

काठमाडौं, जेठ ३० (नागरिक) - अर्थमन्त्री वर्षमान पुनले नेपाल अप्ठ्यारो अवस्थामा रहेकाले यस्तो अवस्थामा दातृ निकायहरुको सहयोग झन बढी हुनुपर्ने बताएका छन्। उनले सहयोग जारी राख्‍न र अझ बढाउन नेपालस्थित सबै दातृ निकायका प्रतिनिधिहरुसँग आग्रह गरेका छन्।
सोमबार साँझ ललितपुरमा दातृ निकायहरुसँग छलफल गर्न अर्थमन्त्रलायद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सहयोग बढाउन आग्रह गरेका हुन्। उनले राजनीतिक संक्रमणमा पनि नेपालको आर्थिक समृद्धिको काम रोकिदैन भन्ने कुरालाई पुष्टि गर्न आफूहरु लागिपरेको बताए।
'विगतको अप्ठ्यारो अवस्थामा पनि तपाईंहरुले हामीलाई ठूलो सहयोग गर्नुभएको छ,' उनले भने, 'आगामी आर्थिक वर्षमा पनि तपाईंहरुको सहयोग निरन्तर रहने छ, अझ हामीले सहयोग बढ्ने आशा लिएका छौं।'
अर्थमन्त्री पुनले संविधानसभा अनपेक्षित रुपमा विघटन हुँदा आफूहरु पनि दुःखित भएको बताउँदै प्रजातान्त्रिक मुलुकले अंगाल्ने बाटो फेरी नयाँ संविधानसभाको निर्वाचन घोषणा भइसकेकाले निर्वाचन हुने बताए। उनले सर्वोच्च अदालतको आदेश बमोजिम नयाँ निर्वाचन घोषणा गरिएको पनि बताए।
'संविघानसभा विघटनपछि केही राजनीतिक असहजताहरु उत्पन्न भएका छन्। तर पनि हामी आर्थिक एजेण्डामा भने न्यूनतम राजनीतिक सहमति गरेर अगाडि बढ्ने कोसिस गरिरहेका छौं,' उनले भने, 'राजनीतिक संक्रमणमा पनि आर्थिक समृद्धिको काम अगाडि बढाइराख्छौं भन्ने पुष्टि गर्न खोजेका छौं।'
अर्थमन्त्री पुनले दातृ निकायमा प्रतिनिधिहरुसँग नेपालको समग्र अर्थतन्त्रको परिसूचक राम्रो भएको बताउँदै केही वर्षभित्रै दोहोरो आर्थिक अंकको वृद्धिका लक्ष्यकासाथ अगाडि बढिरहेको जानकारी गराए।

No comments:

Post a Comment