Wednesday, June 13, 2012

भाइरलले पाँचको मृत्यु

उत्तरी गोरखाको सिर्दिवास गाविस ३, ४ र ५ नम्वर वडामा एक साता अघिबाट फैलिएको भाइरलले पाँच जनाको मृत्यू भएको छ ।
स्थानिय कान्छा गुरुङका अनुसार सिर्दिबास ५ का लाल गुरुङका ५ वर्षीय छोरा च्यारे, २ वर्षीया छोरी कान्छी, सुनबहादुर गुरुङका २ वर्षीय छोरा ग्याल्बो गुरुङ, धामीकान्छा गुरुङको ९ वर्षीया छोरी लेजुङ गुरुङ र ४ नम्वर वडाकी ६० वर्षीया कान्छि गुरुङको मृत्यु भएको हो ।
पाँच मध्ये एकको एक साता अघि मृत्यु भएको हो । अन्य चार जनाको बितेको तीन दिनमा मृत्यू भएको कान्छाले टेलिफोनमा बताए । गाउँमा बिरामीको संख्या कम्तिमा सय जना रहेका छन् । दर्जन भन्दा बढी बिरामी सिकिस्त रहेको तङसिङ विद्यालयका शिक्षक केशव अधिकारीले बताए ।
प्रायजसोको घरमा बिरामी छन् । अधिकारीका अनुसार भाइरलले बढीमात्रामा केटाकेटी र बृद्धबृद्धालाई सताएको छ । बिरामीहरुमा फरक फरक लक्षण देखा पर्ने गरेको छ । कसैलाई टाउको दुख्ने, कसैलाई रिंगटा लाग्ने, ज्वरो आउने, शरिरमा बिबिराउठ्ने, झडावान्ता गर्ने लगायत लक्षण देखा पर्ने गरेको स्थानियहरुले बताएका छन् । स्वास्थ्यचौकीगाउँबाट टाढा भएको र सरकारी दरबन्दीका स्वास्थ्यकर्मी नभएकाले बिरामीले उपचार पाएका छैनन् ।
लक्षण देखा परेको दिनमा बिरामीलाई गत २५ गते फेज नेपाल नामक गैर सरकारी संस्थाकी स्वास्थ्य कार्यकर्ताले छाडेको औषधी सिटामोल मात्र खुवाईएको शिक्षक अधिकारीले बताए । भाईरलको लक्षण गत २५ गतेबाट देखिएको हो । स्वास्थ्यचौकिमा रहेका स्वास्थ्यकर्मी र जिल्ला स्वास्थ्य कार्यालयले भाईरल प्रभावित क्षेत्रको बिषयमा अनविज्ञता प्रकट गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले मान्छे मरेको र बिरामी परेकोबारे केहि थाहा नभएको बताए । गत बर्ष पनि उक्त गाविस ७ मा भाइरलकै कारण चार जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०६९ जेष्ठ ३१ १२:००

No comments:

Post a Comment