चर्को घाममा असिन पसिन हुँदै गाविस सचिव रमा भुजेलको खोजीमा जिल्ला विकास समिति पाल्पाको परिसरमा आइपुगेका चिर्तुंगधारा पाल्पाका मीन बहादुर सिंजालीले धेरै बेरको अथक प्रयास पछि मात्रै सचिव भुजेललाई भेट्ने मौका पाउनुभयो । गाविस कार्यालयबाटै सिफारिस हुन सक्ने मीन बहादुरकी श्रीमति तारा सिंजालीको सामान्य कागजात बनाउन मीन बहादुरका दम्पत्तीले सदरमुकाम आउने जाने खर्च मात्रै हैन धेरैपटक सचिवको मोवाइलमा फोन गरेर थप पैसा खर्चन बाध्य हुनुप¥यो ।
पाल्पाका अधिकांश गाउँ विकास समितिका सचिवहरु गाउँ विकास समितिको कार्यालयमा कहिलेकाँही मात्रै पुग्छन् । गाविस नजाने सचिवहरुलाई सदरमुकाम तानसेनमै आउँदा पनि भेट्टाउन गाह्रो हुने गरेको स्थानीय सेवाग्राहीहरुको गुनासो छ । आफ्नो छोराको नागरिकताको सिफारिस बनाउन सचिवको खोजीमा आइपुगेका विकट पश्चिम पाल्पाको सिद्धेश्वर गाविसका बीर बहादुर बुढाले धेरै बेर जिविस परिसरमा चाहारेपछि मात्रै गाविस सचिव खेम बहादुर सारुको मोवाइल नम्वर फेला पार्नुभयो । बीर बहादुरले बढो मुस्किलका साथ सचिवलाई फेला पारेपछि मात्रै छोराको नागरिकताको सिफारिस तयार भयो । सोही गाविसका सचिव खेम बहादुर सारुले आफू महिनामा १२ दिन जति गाविसमा जाने गरेको र अरु दिन काम गर्न पर्नेहरुलाई सदरमुकाममै बोलाउने गरेको बताउनुभयो । सेवाग्राहीका अनुसार सिद्धेश्वरबाट सदरमुकामका लागि आते जाते खर्च मात्रै प्रतिब्यक्ति पाँच सय रुपैया तिर्नुपर्छ ।
गाउँ विकास समितिको कार्यालयमा रहेर काम गर्नुपर्ने सचिवहरु सरकारी कोट पाइन्ट लगाएर र झोला बोकेर कोही जिल्ला विकास समिति परिसरमा बस्छन् त कोही तानसेन बजार घुमेर दिन कटाउँदै आएका छन् । उता जनताले दुःख पाउने क्रम सुधारिएको छैन । १० वर्षे युद्धको क्रममा सदरमुकाममै डेरा लिएर बसी काम गर्दै आएका सचिवहरु संविधान सभा मार्फत नयाँ संविधान बन्ने अवस्थासम्म आइपुग्दा समेत नसुधारिएको सर्वसाधारणहरुको गुनासो छ ।
कतिपय गाउँ विकास समितिमा फलाना गते सचिव आउनुहुन्छ भनेर सार्वजनिक सूचना जारी गरिएको छ भने कतिपयमा सचिव आफूलाई पायक परेको समयमा मात्रै गाविस कार्यालयमा जाने गरेका छन् । जसले गर्दा स्थानीय सर्बसाधारणहरुले एकै छिनमा हुने कामलाई सदरमुकाम सम्म आएर समय र पैसा खर्चन बाध्य भएका छन् । सचिवहरु गाउँ नजादा स्थानीय बासिन्दाहरुले उस्तै दुःख पाएको गुनासो छ । चापपानी गाउँ विकास समिति वडा नं. २ का निवर्तमान अध्यक्ष टीकाराम तिमिल्सिनाले भन्नुभयो–“खासमासामाुजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गर्नुपर्ने दायित्व सचिवकै हो । तर सचिव गाविसमासमेत आउने नआउने ठेगान नभएकोले यहाँका कतिपय बुढाबुढीले भत्ता पाउन सकेका छैनन् ।” पाल्पामा एउटा नगरपालिका सहित ६५ वटा गाउँ विकास समिति रहेका छन् ।
जिल्ला विकास समिति पाल्पाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेकराज पन्थीले गाविस कार्यालय जानुपर्ने सचिवहरुले कतिपय सचिवहरु बिना काम जिविस परिसरमा बसेर दिन कटाउने गरेको स्वीकार गर्नुभयो । उहाँले अगाडि भन्नुभयो–“जनतालाई दुःख दिएर सदरमुकाम डुल्ने सचिवलाई कारवाही हुन्छ भनेर हामीले सचिवजीहरुलाई निर्देशन दिइसकेका छौं यदि जनताको गुनासो आयो भने हामी कडा कारवाही गर्छौ ।”
No comments:
Post a Comment