Thursday, April 26, 2012

३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन :

काठमाडौं, वैशाख १४ (नागरिक)- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ३८५ जना सभासद्‍को सङ्ख्या बनाएर मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप लगाएका छन्। उनले ३८५ सभासदको भेडीगोठ राज्यले नथेग्ने पनि बताए।
केसीले भने– ३८५ जना सभासदको भेडीगोठलाई धान्न राज्यले नसक्ने अवस्थामा १४ प्रदेश मुलुकका लागि अभिशाप हुन्छ। ६०१ जम्बो सभासदको आलोचना भइरहेका बेला फेरि पनि यस्तो कुरा ल्याउनु कुनै हालतले ठीक नहुने उनको भनाई थियो।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले लोकतन्त्रमा अग्रधिकार, आत्मनिर्णयको अधिकार र जातीय प्रदेश सम्भव छैन नभएको बताएका छन्। उनले प्रदेश छुट्याइसकेपछि प्रदेशको नामाङ्कन गर्न सकिने विचार पनि व्यक्त गरेका छन्। आचार्यले भने- ३८५ जना सभासद जम्बो भयो, केन्द्रभन्दा प्रदेशको सङ्ख्या बढी हुने भएकालेत्यसलाई दलबीच सहमति गरेर पुनः विचार गर्न सकिन्छ।
रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमका अर्का वक्ता नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यगोपालमान श्रेष्ठले शासकीय स्वरुप, निर्वाचन प्रर्णालीलगायतका विषयहरु प्रदेशको टुङ्गो लागेपछि मात्र छलफल गर्नुपर्ने भन्दै राज्य पुनःसंरचना गर्दा जातीयताको आधारमा नभई भौगोलिकताका आधारमा हुनुपर्ने जिकिर गरे।
श्रेष्ठले भने– हामी बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाँदैनौं, जानुको कुनै अर्थ छैन, जेठ १४ भित्र नेपाली कङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ।
सद्‍भावना पार्टीका सह–अध्यक्ष तथा सभासद लक्ष्मणलाल कर्णले जातीय पहिचान नभएकै कारणले मधेशीहरुलाई भारतीय भनेर लखेट्ने गरेको इतिहास छ भन्दै त्यसकारण जातीय पहिचानसहितको सङ्घीयता हुनुपर्ने दावी गरे।
कर्णले भने– जेठ १४ भित्रै सङ्घीयतासहितको संविधान जारी हुनुपर्छ, हुन्छ पनि। समझदारीविना केही हुँदैन, समझदारीबाटै शान्ति प्रकृया टुङ्गियो भने अब समझदारीकै आधारमा सङ्घीययतासहितको संविधान जारी हुन्छ।

No comments:

Post a Comment