Tuesday, December 24, 2013

अझै भेटिँदैछ राजा वीरेन्द्रको जग्गा, नुवाकोट र धादिङमा १५ हजार २ सय ७२ रोपनी भेटियो

९ पुस, काठमाडौं । नेपाल ट्रस्टले दिवंगत राजा वीरेन्द्र र उनका परिवारको
थप जग्गा फेला पारेको छ। ट्रस्टले धादिङ र नुवाकोटमा जग्गा फेला पारेको
छ। दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको नाममा रहेको
सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रिय हितमा प्रयोग गर्नका लागि
स्थापना गरिएको नेपाल ट्रस्टले हालै त्यहाँ नयाँ जग्गा फेला पारेको हो।
सम्पत्ति खोजबिन अभियान सञ्चालन गरिरहेको नेपाल ट्रस्टले धादिङमा १५ हजार
१ सय १ रोपनी र नुवाकोटमा १ सय ७२ रोपनी जग्गा फेला पारेको हो। ट्रस्टको
कार्यालयले दिएको जानकारीअनुसार धादिङको छत्रेदेउराली–८ को १५ हजार १ सय
१ रोपनी ११ आना २ दाम १ पैसा जग्गा र नुवाकोटको थानसिंह गाविस–१ मा
कित्ता नम्बर ७४७ देखि ८२० सम्मका जम्मा १ सय ७२ रोपनी २ आना ० दाम १
पैसा जग्गा पत्ता लागेको हो।
दुवै जिल्लाको सो जग्गा पत्ता लागेपछि सुरुमा नेपाल सरकारको नाममा दर्ता
गरी नेपाल ट्रस्टको नाममा दर्ता गरिएको हो। यी जग्गा पत्ता लागेपछि
मुलुकका १० जिल्लामा राजपरिवार र विभिन्न सदस्यको नाममा रहेको जग्गा
नेपाल ट्रस्टको नाममा दर्ता भएको छ। यो जग्गाबाहेक नेपाल ट्रस्टमा १ सय
८१ कित्ता, ५ हजार ६४ रोपनी १३ आना १ पैसा १ दाम जग्गा दर्ता गरिसकिएको छ
। ट्रस्टको नाममा दर्ता भएका जग्गामध्ये काठमाडौंको १ सय ८४ रोपनी र
भक्तपुरको ३ सय रोपनी जग्गामा मोहियानी हकसमेत लागेको छ।
काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, कास्की, मकवानपुर, सुर्खेत, धनकुटा,
काभ्रेपलाञ्चोक गरी ९ जिल्लाको राजपरिवारको जग्गा यसअघि नै नेपाल
ट्रस्टको नाममा दर्ता भइसकेको छ। नेपाल ट्रस्ट ऐन, २०६४ बमोजिम
राजपरिवारको जग्गा ट्रस्टको नाममा राखिएको हो। मोहियानी हक लागेको जग्गा
भने मोहियानीका नाममा अझै दर्ता गरिएको छैन। यसैगरी, राजपरिवारको
सम्पत्ति संरक्षणअन्तर्गत ताहाचल, हेटौंडाको कान्ति ईश्वरी गृह, चितवन
दियालो बंगलाअगाडिको जग्गा, गोकर्णमा पर्खाल निर्माण तथा मर्मत कार्य
सुरु भएको छ।
पोखरा रत्न मन्दिर र सल्लाघारीको जग्गामा पर्खाल निर्माणको ठेक्का
स्वीकृतिको चरणमा रहेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । त्यस्तै,
सम्पत्तिको उपयोगअन्तर्गत गोकर्णको ११ सय रोपनी तथा काभ्रे पाँचखालको
जग्गाको उपयोग सम्बन्धमा विज्ञ परामर्शदाताबाट उपयोग अध्ययन भइरहेको
ट्रस्टको कार्यालयले जनाएको छ । ट्रस्टको नाममा मौज्दात नेपाल ट्रस्टको
नाममा गत कात्तिकसम्म २३ करोड ४८ लाख ३ हजार ७ सय ७२ रुपैयाँ मौज्दात
रहेको राजधानी दैनिकमा खबर छ ।
यसरी विगत ४ महिनामा २ करोड ९१ लाख ८५ हजार ३ सय २७ आम्दानी वृद्धि
गरिएको छ भने विदेशी मुद्रातर्फ बेलायती स्टर्लिङ पाउन्ड ४५ हजार ४५
रहेको थियो । सेयर लगानी नेपाल ट्रस्टको नाममा नबिल बैंक लिमिटेड, होटल
डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म १ लाख ६६ हजार
५ सय ८२ कित्ता सेयर रहेको छ ।
नबिल बैंकमा १ लाख ४४ हजार ४ सय ७२, होटल डेला अन्नपूर्णमा १५ हजार ३ सय
६०, नेपाल औद्योगिक विकासमा ६ हजार ७ सय ५० गरी १ लाख ६६ हजार ५ सय ८२
कित्ता सेयर रहेको छ ।

No comments:

Post a Comment