Saturday, November 16, 2013

परशुराम बस्नेतले भाषण ठोकेपछि छुरी हानाहान

१ मंसिर, संखुवासभा । सम्पत्ति शुद्धीकरणको अभियोग खेपिरहेका एमाले युवा
संघका केन्द्रीय नेता परशुराम बस्नेत संविधानसभामा टिकट नपाएपछि गुपचुप
रहेका थिए । तर, शनिबार अचानक बस्नेत संखुवासभाको चैनपुरमा एमाले
उपाध्यक्ष विद्यादेवी भण्डारीसँग भुल्किए । बस्नेत एमालेको मञ्चमा
देखामात्रै परेनन्, नेतासँगै भाषण पनि ठोक्न भ्याए । तर, 'डन' भनिएका
बस्नेतले बोलेपछि सभास्थलमा छुरा हानाहान भयो ।
नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा बस्नेतले आफ्नो भाषणमा व्यक्ति
तोकेर गुण्डा भनेपछि चैनपुरमा युवाहरुबीच झडप भएको हो । एमालेनिकट युवा
संघका नेता बस्नेतले चैनपुरमा भएको एमालेको चुनावी सभामा बोल्दै
संखुवासभाका कांग्रेस समर्थक युवा थमन गुरुङलाई 'गुण्डा' भनेपछि कांग्रेस
समर्थक युवाहरु आक्रोशित भएका थिए ।
बस्नेतले आफूहरुलाई गुण्डा भनेपछि आक्रोशमा उत्रेका कांग्रेस समर्थक युवा
र एमाले समर्थक युवाहरुबीच शनिवार साँझ हिंसात्मक झडप भएको हो । झडपका
क्रममा कांग्रेस समर्थक युवा वुद्ध लिम्बूमाथि एमाले समर्थक युवाले छुरा
प्रहार गरी गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छ । घाइतेको स्थानीय
मेडिकलमा उपचार भइरहेको छ । झडपकै क्रममा एमाले कांग्रेसका युवा जीवन
लिम्वूको टाउकोमा ढुंगाले लागेर गम्भीर भएका छन् ।
एमाले उपाध्यक्ष विद्या भण्डारीसँगै आएका परशुराम बस्नेत आक्रमक भाषण
गरेर हेलिकोप्टरबाट विद्यादेवीसँगै काठमाडौ फर्केका छन् । चुनावी सभा
सकिएलगत्तै दुई पार्टीका युवाहरुबीच झडपलाई नियन्त्रणमा लिन चैनपुर
बजारमा सशस्त्र र जनपथ प्रहरी परिचालित गरिएको छ । चैनपुरका
त्रिचोकसहितका स्थानमा सशस्त्र र जनपथका सयौं प्रहरी तैनाथ गरिएको इलाका
प्रहरी कार्यालय चैनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन
सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको थियो ।

No comments:

Post a Comment