चाँदनी हमाल , नवलपरासी, फागुन २८- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम
क्षेत्र नवलपरासीको अग्यौली-५ अमलटारीमा रहेको रणदल गुल्मका सेना र मुसहर
वस्तीका स्थानीयबीचको विवादमा झडप भएको छ। झडपमा नेपाली सेनाले १५ राउण्ड
गोली समेत चलाएको छ । शनिवार राती गस्तीमा रहेको टोली र स्थानीयवासीबीच
झडप भएको नवलपुर प्रहरीले जनाएको छ।
झडपमा दुवैतर्फका केही घाईते भएको प्रहरी निरिक्षक उमेश लम्सालले जानकारी
दिए। तर दुवै तर्फ गरी अन्दाजी एक दर्जन घाईते भएको बताईएको छ। लम्सालले
सेनाका जमदार चन्द्र बहादुर रेग्मीको टाउकोमा गम्भिर चोट लागेको बताए पनि
अन्य घाईते बारे अहिलेसम्म जानकारी नआएको उल्लेख गरे। चितवन राष्ट्रिय
निकुन्जको सुरक्षार्थ अमलटारीमा रहँदै आएको सेनाको टोली र गुल्म नजिक
रहेको कावासोती-१ सांडको मुसहर गाउँका स्थानीय युवाबीच शनिवार झडप भएको
थियो । शुरुमा ४ जनासँना मात्रसँग विवाद भए पनि पछि सेना थपिएका थिए।
विवाद बढ्दै गएपछि सेनाले सुरक्षाका लागि भन्दै करिब १५ राउन्ड हवाई फायर
गरेको लम्सालले जानकारी दिए। केही खोका घटनास्थलमा समेत भेटिएका छन्।
लम्सालले घटनाको विस्तृत विवरण र कारण वारे खुलाउन चाहेनन् । उनले
अनुसन्धानमै रहेको र स्थानियले पनि केही नबताएकाले एकिन भन्न सकिने
अवस्था नरहेको बताए । गणका प्रमुख मेजर सुशील थापाले स्थानियले विवाद
झिकेपछि सुरक्षाका लागि हवाई फायर गरेको बताए ।
स्थानीयका अनुसार झडपमा कावासोती सांडका बुद्धि मुसहर, गङ्गाराम महतो,
लीलाबहादुर मुसहर, टीकाराम मुसहर लगायतका घाईते भएका छन् । सो क्षेत्र
चितवन निकुञ्जको मध्येवर्तीमा रहेको छ। यसअघि पनि स्थानीय र सेनाबीच पटक
पटक विवाद हुँदै आएको थियो।
नारायणी नदीमा माछा मार्न जाँदा सेनाले गरेको ज्याजतिले स्थानिय आक्रोसित
भएको अनुमान गरिएको छ । स्थानीय प्रत्यक्षदर्शीले भने युवती जिक्याउन
थालेपछि विवाद भएको बताएका छन् ।
source Nagariknews.com
No comments:
Post a Comment