१ माघ, काठमाण्डौं । आज माघेसङ्क्रान्ति जलाशय, नदी, तथा त्रिवेणीमा
स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ,चाकु, तिलको लड्डु र तरुल
दान एवं खाई मनाइँदैछ ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर
राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजदेखि दिन लामो हुने र रात छोटो
हुँदै जान्छ ।
'भविष्यपुराण' तथा 'धर्मसिन्धु' नामक ग्रन्थमाआजका दिन स्नान गरी घिउ,
चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने
मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थआफूले
खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।
लड्डु तथा घिउचाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा 'घ्यः
चाकु सन्हु' तथा नेपालीमा 'मकर सङ्क्रान्ति'पनि भन्ने गरिन्छ । यस पर्वमा
नेपालको शङ्खमूल, देवघाट, वराहक्षेत्र, पनौती, दोलालघाट र कन्काई तथा
भारतका प्रयाग र गङ्गासागरलगायत नदी तथा त्रिवेणीमा स्नान, दान,
श्राद्धलगायत कार्य गर्नेहरूको ठूलो भिड लाग्छ । नेपालको रुरु रिडी
क्षेत्रमा आजदेखि तीनदिन सम्म धुमधामका साथ मकर मेलालाग्ने गर्छ ।
आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले
हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत
तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने
तथा शरीरमा भएका विकारलाई बाहिर पठाउने उल्लेख गरिएको छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र
खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको
तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश
हुने विश्वास गरिन्छ ।
यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र
दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ । थारु समुदायमा यो पर्व 'माघी'
पर्वका रूपमा धुमधामका साथ मनाइन्छ । आजको दिन यस समुदायमा मासको दाल र
चामल मिसाइएको खिचडी खाने र पाँचदिनसम्म मनाउने चलन छ ।
No comments:
Post a Comment