काठमाडौं, पुस २६ - नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका
पत्रकार डेकेन्द्रराज थापाका हत्यालाई जोगाए अन्तर्राष्ट्रिय अदालत जाने
चेतावनी दिएका छन् ।
डेकेन्द्रका हत्यारालाई जोगाउने प्रधानमन्त्री बाबुराम भट्टराईको
अभिव्यक्तिविरुद्ध प्रेस चौतारीले बिहीबार राजधानीमा गरेको विरोधसभामा
गाउँलेले यस्तो चेतावनी दिएका हुन् । 'यहाँ यो मुद्दा रोकियो भने महासंघ
अपराधी र अपराधीलाई जोगाउनेविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छ,'
गाउँलेको चेतावनी थियो, 'यसलाई हल्कारुपमा नलिइयोस् ।'
गाउँलेले सरकार प्रमुखले खुलेआम अपराधीको पक्षमा बोल्दा लोकतन्त्र,
विधिको शासन र मानवअधिकारको ठाडो उल्लंघन भएको बताए । उनले
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध पत्रकार जगतमात्र नभई सिंगो मुलुक नै
एक ठाउँमा उभिनुपर्ने बताए ।
पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले अपराधी र हत्यारालाई
जोगाउने सरकार र प्रधानमन्त्रीलाई अभिभावक मान्न नसकिने बताए। पत्रकार
हत्यारा जोगाउनेहर्कत नदेखाउन प्रधानमन्त्रीलाई चुनौति दिंदै उनले यसको
परिणाम महंगो पर्ने चेतावनी दिए ।
विरोधसभामा पत्रकारहरु महेन्द्र विष्ट, किशोर श्रेष्ठ, सोमनाथ घिमिरे,
श्रीधर आचार्यलगायतले डेकेन्द्रका हत्याराले गल्ती स्वीकारिसकेको
अवस्थामा पनि प्रधानमन्त्रीले अभिव्यक्तिले सरकार विधिको शासनविरुद्ध
रहेको प्रस्ट भएको बताए ।
युनियनको विरोधसभामा प्रहरी हस्तक्षेप
यसैबीच नेपाल प्रेस युनियनले पत्रकार डेकेन्द्र थापाको हत्या
अनुसन्धानलाई प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रभावित गर्ने
काम भएको भन्दै बिहीबार राजधानीमा प्रर्दशन गरेको छ ।
युनियनको नयाँ बानेश्वर थापा गाउँस्थित कार्यालयबाट निस्केको जुलुस
सिंहदरवारको दक्षिणी ढोका नजिकसम्म पुगेको थियो । जुलुसले निष्पक्ष
छानविन र पत्रकारका हत्यारालाई कारवाहीको माग गर्दै सिंहदरवारको दक्षिणी
गेट तर्फ बढ्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच केही धकेला धकेल समेत
भएको थियो ।
सिडियो कार्यालय जाने मोडमा प्रहरीले जुलुशलाई रोकेको थियो । त्यहाँ
युनियन अध्यक्ष किरण पोखरेल, हरिहर विरही, पोषण केसी अधिकारकर्मी
सुन्दरमणि दीक्षित, चरण प्रसाई लगायतले प्रधानमन्त्रीले अनुसन्धान
प्रक्रिया प्रभावित पार्न खोजेकोमा विरोध जनाएका थिए ।
यसअघि बुधबार नेपाल पत्रकार महासंघले बानेश्वरमा बिरोध प्रदर्शन गरेको
थियो भने शुक्रबार मुलुकभर प्रर्दशनको तयारी गरेको छ ।
No comments:
Post a Comment