काठमाडौँ, भदौ १३ (नागरिक)- नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादीले अघोषित रुपमा सत्ता कब्जा गरिसकेको बताउँदै सरकारको नियतनै विपक्षीहरुलाई समाप्त गरेर पोलपोटको जस्तो निरकुंश शासन गर्ने तर्फ उन्मुख रहेको आरोप लगाएका छन्।
उनले अध्यादेश सत्ता सम्ब्याउने चाल मात्रै भएको भन्दै यस्तै क्रम जारी रहे प्रधानमन्त्रीको हालत ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिए। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने- 'अघोषित रुपमा माओवादीले सत्ता कब्जा गरिसकेको छ। अब विपक्षीले आन्दोलनको आँधिबेहरी ल्याएर सरकारलाई सत्ताच्यूत गर्नु पर्छ।'
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफूले पद छाडेको घोषणा मात्र गरे पनि सहमति बन्ने विश्वास ब्यक्त गरे।
महतले भने- 'इरानबाट फर्कने बित्तिकै सर्वदलीय बैठक बोलाएर मैले पद छाडेँ, तपाईहरु नयाँ नाम दिनुस् भनेर प्रस्ताव गर्ने बित्तिकै मुलुकले सहमतिको नयाँ सरकार र निकास समेत पाउँछ।'
त्यस्तो प्रस्ताव दिना साथ कङ्ग्रेसले सहमतिको प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने भन्दै अहिले हावामा कङ्ग्रेसले उम्मेदवारी घोषणा नगर्ने स्पष्ट पारे।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले माओवादी नेतृत्वको अभिब्यक्ति र सरकारको चाल सत्ता कब्जा तर्फ उन्मुख रहेको भन्दै तत्काल कङ्ग्रेसले सरकारको विकल्प दिन सक्नु पर्ने तर्क गरे।
प्रधानमन्त्रीको देशबासीको नाममा सम्बोधन आफ्नो ब्यक्तित्व अनुसार काम गर्न नसकेको लाचार अभिब्यक्ति भन्दै उनले प्रधानमन्त्रीले आफूले एक वर्षमा केही गर्न नसकेको र अरुको एजेण्डामा लतारिएर गएको दावी उनले गरे।
नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कडेलले अध्यादेशमाथि अध्यादेश ल्याउनु सत्ता लम्ब्याउने चाल बाहेक केही नभएको बताए।
उनले प्रधानमन्त्री भट्टराई विचारबाट स्खलित भईसकेको ब्यक्तित्व भएकोले उनबाट कुनै पनि समस्या समाधानको अपेक्षा गर्नु मुर्खताबाहेक केही नभएको स्पष्ट पारे।
उनले प्रधानमन्त्रीको देशबासीको नाममा सम्बोधन आफूले गरेको गलत, राष्ट्रघाती कामको सफाईको लागि गरेको क्रन्दन मात्रै भएको आरोप समेत लगाए।
No comments:
Post a Comment