काठमाडौं, साउन २७ (नागरिक)- विपक्षी गठबन्धनमा सहभागी राजनीतिक दल निकट २१ युवा विद्यार्थी संगठनले संयूक्त मोर्चा निर्माण गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित कार्यक्रममा गठबन्धनका युवा विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री भट्टराईले आफैं राजीनामा नदिए उनलाई पदमुक्त नगरेसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदैविभिन्न आन्दोलनको घोषणा गरेका हुन्।
घोषित आन्दोलनका कार्यक्रममा साउन २८ गते आइतबार बिहान सरकारले मनाउन लागेको युवा दिवस असफल बनाउन अवरोध गर्ने र विदेशी नाम, विदेशी शैक्षिक संस्थाको आबद्धता भएका र सिटीभीटीअन्तर्गतका सबै शिक्षण सस्था बन्द गर्ने, साउन २९ गते ७५ जिल्लामा प्रधानमन्त्रीको मुखुण्डोसहित ब्यङग्य जुसससहित आन्दोलन गर्ने, साउन ३० गते राजधानीमा युवा स्वरोजकार कोष घेराउ र ७५ जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, साउन ३१ गते सरकारको वैद्यताको विषयमा गर्ने मतदानको विषयमाप्रचार प्रसार गर्ने, साउन ३२ गते सरकारको वैद्यताको विषयमा देशभरि मतदान गर्ने, भदौ १ गते मतदानको नतिजा घोषणा गर्ने र भदौ ३ गते राष्ट्रपतिलाई सो मतदानको परिणाम बुझाउने र सोही दिनबाट प्रधानमन्त्री निवास घेराउ गर्ने छन्।
कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले राष्ट्रघाती सरकार अधिनायकबाट तीर उन्मुख भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर सत्ता नछाडे बालुवाटबाट निकालेर कब्जा गर्ने चेतावनी दिए। उनले आफूहरुको आन्दोलन वर्तमान सरकार कायम रहेसम्म निरन्तर कायम रहने भन्दै अहिलेको सरकार विस्थापित गरेरमात्रै आन्दोलन अन्त्य हुने स्पष्ट पारे।
बस्नेतले युवा विद्यार्थी संगठनबीच सहकार्य भएकाले युवा संघले साउन ३२ गतेको नेपाल बन्दसहित घोषणा गरेको आन्दोलनको सम्पूर्ण कार्यक्रमसमेत फिर्ता लिएको छ। कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष उदयसमशेर राणाले माओवादी सत्ता कब्जा गर्ने रणनीतिमा अगाडि बढीरहेको दाबी गर्दै आफूहरुले माओवादीको चाल कुनैपनि हालतमा पुरा हुन नदिने स्पष्ट पारे। उनले प्रधानमन्त्रीको राजीनामाबाहेक कुनै पनि विकल्पमा आफूहरुले सम्झौता नगर्नेसमेत स्पष्ट पारे।
अनेरास्ववीयुका अध्यक्ष माधव ढुङगेलले प्रधानमन्त्री बाबुराम भटटराई नेतृत्वको सरकार मुलुकलाई विघठन गराउने षड्यन्त्रमा लागेको आरोप लगाउँदै मुलुक बचाउन अब आन्दोलनको विकल्प नभएको स्पष्ट पारे। सहमतिको बहाना गरेर पदमा बसिरहने प्रधानमन्त्रीले पछिल्लो समयमा अलग्गै गठबन्धन निर्माण गरेर सहमतिको सम्भावनाको अन्त्य गरेको भन्दै अब आन्दोलनबाटै सरकार ढाल्ने घोषणा गरे।
No comments:
Post a Comment