Wednesday, June 27, 2012

बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ

खिलानाथ ढकाल, विराटनगर, असार १३- चार महिनाअघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यममार्फत् लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफ्तार गरेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ।
क्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले पाँचथरको लुङरुप्पा गाविस २ बाट उनलाई गिरफ्तार गरिएको जानकारी दिए। उनका अनुसार धनकुटा स्थायी घर भएका लामा ३ महिनादेखि भागेर पाँचथरमा संगठन विस्तारमा सक्रिय थिए। 'त्यहाँ उनी किरात जनवादी वर्कर्स र माओवादीका पूर्व लडाकुहरुसँग मिली संगठन विस्तार गरिरहेका थिए' डीआइजी शाहले भने, 'इलाम, झापा र पाँचथरमा थप विस्फोट गराउने योजना बनाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।'
गत फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगमअगाडि भएको विस्फोटमा कृष्णबहादुर तामाङ र वीरबहादुर तामाङको घटनास्थलमै र ७० वर्षीय मानबहादुर तामाङको उपचार क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।
विस्फोट लगत्तै विश्वक्रान्ति उपनामबाट सञ्चार माध्यममा फोन गर्दै लामाले घटना आफूहरुले गराएको बताएका थिए। आजको पत्रकार सम्मेलनमा पनि उनले विस्फोट आफूले गराएको स्वीकारे। उनले पेट्रोलियम पदार्थको भाउ बढाएकोले चेतावनी दिन बम पड्काएको जिकिर गरे।
यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा नुवाकोट ओखरपौवाका ३५ वर्षीय भीमबहादुर तामाङ, रामेछाप दर्गाका ३० वर्षीय निमा दोर्जे तामाङ, हेटौडा पदमपोखरीका ६० वर्षीय बुद्धिबहादुर गोले, धादिङ छत्रे देउरालीका २८ वर्षीय प्रेम तामाङ, नौविसे धुसेनीका २० वर्षीय सागर लामा र तसरपुर धादिङका २० वर्षीय सुरेश लामालाई पक्रिसकेको छ।
बम विस्फोट भएको केही समयपछि घटनास्थल। फाइल तस्बिरः नागरिक
यसरी गराइएको थियो विस्फोट
घटनालगत्तै गृह मन्त्रालयले अर्यालको संयोजकत्वमा एसएसपी देवेन्द्र सुवेदी तथा केदारमानसिह भन्डारी र एसपी सुबोध घिमिरेको रहेको अनुसन्धान समिति गठन गरेको थियो। टोलीले अनुसन्धानका लागी व्युरो सहित महानगरीय प्रहरी अपराध महाशाखा, प्रतिआतंकवाद निर्देशनालयका प्रहरी जनशक्ति मिलाएर ५० जनाको विशेष टोली परिचालन गरेको थियो। समितिले अनुसन्धानलाई 'अप्रेशन निगम' नामकरण गरेर सूचना संकलन, मोर्चाकापदाधिकारीहरूको सम्पर्क जालो र विस्लेषणका लागिछुट्टाछुट्टै टोली परिचालन गरेको थियो।
कपनमा बन्यो योजना
अनुसन्धान समितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार विश्वक्रान्ति आफैंले विस्फोटको योजना बनाएका थिए। कपनस्थित ससुरालीमा बस्दै आएका उनी विस्फोट भन्दा दुई दिनअघिसम्म काठमाडौंमै थिए। कपनको एक 'भट्टी'मा सहयोगीसहित बसेर उनले 'काठमाडौंमा बम नपड्काएसम्म पैसा जम्मा गर्न नसकिने भइयो' भन्दै विस्फोटको योजना बनाएका थिए। त्यतिबेला उनीसँग प्रेम, सुरेश र सागरसँगै थिए।
भीमबहादुर २०६६ सालमा नुवाकोटका पाण्डु लामा हत्याका फरार अभियुक्तसमेत हुन्। माओवादीका जिल्ला समिति सदस्य रहिसकेका उनी माओवादी छाडेर मोर्चाको केन्द्रीय सदस्य बनेका थिए।
आविश्कार तामाङ समेत भनिने निमादोर्जे एलाइन्स एकेडेमी कलेजका अनुशासन प्रमुखका रुपमा कार्यरतथिए। उनी पनि त्यसअघि माओवादीमै थिए। बुद्धिबहादुर शान्तिनगरस्थित बबिता बास गार्मेन्टमा कार्यरत थिए। उनले मोर्चाका केन्द्रिय सदस्य समेत रहेका प्रेम सागरलाई सहयोगीका रुपमा परिचालन गरेका थिए। सुरेश बुद्धिसँगै गार्मेन्टमा कार्यरत थिए।
सरकारसँग शान्ति वार्ता थालेपछि व्यापारीहरूले टेर्न छाडेको भन्दै उनीहरूले आतंक फैलाउन विस्फोट गराएको प्रहरीको ठहर छ।
उनीहरूले विस्फोटका लागि सरकारी भवन वा भिडभाड हुने सहरका मुख्य केन्द्र छानेका थिए। इन्धनको मूल्य बृद्धिप्रति विद्यार्थीहरू असन्तुष्ट भएको मौका छोपी नेपाल आयल निगमको मुख्यालयलाई निशाना बनाउँदा 'आतंकको लाभ' हुने उक्त समूहले ठान्यो।
प्रहरी प्रतिवेदनअनुसार विश्वदीप भनिने भीमबहादुरले विस्फोटको योजना बनाउन सहयोग गरेकाथिए। विश्वक्रान्तिले निमालाई समेत परिचालन गरेका थिए।
निमा र भीमबहादुरले योजनामा बुद्धिबहादुर गोलेलाई प्रयोग गरेका थिए। गोलेले प्रेम तामाङ, सुरेश लामा र सागर लामालाई परिचालन गरेका थिए।
प्रतिवेदनअनुसार माघ २४ गतेबाटै बम पड्काउने सम्भावित स्थानहरूबारे बुझ्न बुद्धिबहादुर खटिएका थिए। उनीहरूले १० दिनअघि विस्फोटका लागि बबरमहल रोजेका थिए।
भीमबहादुर र निमा मिलेर विष्फोट गराउने स्थानको चयन, विस्फोटक पदार्थ खोज्ने र बम बनाउने कामका लागि बुद्धिबहादुरलाई छानेका थिए। गोलेले सहयोगीका रुपमा प्रेम, सुरेश र सागरलाई रोजेका थिए।
डिआइजी अर्यालका अनुसार प्रेम, सुरेश र सागरले स्थानको छनौट गर्ने, बम बनाउने र बम राख्ने काम गरेका थिए।
एक घन्टाअगाडि बम
प्रहरी प्रतिवेदनअनुसार घटनाको दिन बिहान नौ बजे सुरेश, सागर र प्रेम बानेश्वर र अनामनगर क्षेत्रमा बसेका थिए। उनीहरूले राधा कम्प्लेक्समा बसेर भावी घटनास्थल अवलोकन गरे।
विस्फोट भएको एक घन्टाअघि उनीहरूले निगमअगाडि 'टाइम डिले मेकानिज्म' सहितको विस्फोटक पदार्थ लगेर राखेका थिए। पैदलै आएर कपडाले बेरिएको बम निगमअगाडि राखेर बबर महल हुँदै बानेश्वर गए।
'विभिन्न टेलिभिजनमा फोन गर्दा प्रयोग गरेको विश्वक्रान्तिको नम्बरै प्रहरीको प्रारम्भिक अनुसन्धान बिन्दु थियो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'तर, यसमा टेलिफोन सम्पर्क जालो भन्दा पनि गुप्तचरीमा आधारित सूचना संकलनले महत्वपूर्ण भूमिका खेल्यो।'
ती अधिकृतका अनुसार विस्फोटलगत्तै विश्वक्रान्तिले भीमबहादुरलाई फोन गरेर 'सुरक्षित हुनू है' भनेका थिए। भीमबहादुरले पनि अरुलाई त्यसै भनेर फोन गरे।
विस्फोटपछि पनि उनीहरूले विभिन्न जग्गा कारोबारी र म्यानपावर व्यवसायीलाई मोर्चाको नाममा ५० लाखसम्म पैसा मागिरहे।
पक्राउ परेकामध्ये सुरेश र प्रेमले मात्र केही मुख खोलेका छन्, अरूले भने ओठ बन्दै राखेको प्रहरीले जनाएको छ। वयानमा उनीहरूले त्रास फैलाउन मात्र बम पड्काएको, मानवीय क्षतिको योजना नभएको बताएका छन् तर डिआइजी अर्यालका अनुसार उनीहरूले मानवीय क्षतिकै लागि सर्वसाधारणको चहलपहल हुने ठाउँ रोजेका थिए।
अर्यालका अनुसार उपत्यकामा अर्को विस्फोट गराउने गरी विस्फोटक पदार्थ जम्मा गरिरहेको बेला उनीहरू पक्राउ परेका थिए।
प्रतिक्रियाहरू (0)
ईमेल

No comments:

Post a Comment