Saturday, May 5, 2012

हिम पहिरोले नदी छेकेको हुन सक्छ : जलवायु परिवर्तन विशेषज्ञ अरूणभक्त श्रेष्ठ

- अन्नपूर्ण शृंखलाको माछापुछ्रे क्षेत्रमा गएको हिमपहिरोले सेती नदीमा आएको बाढीलाई विशेषज्ञहरूले अनौठो मानेका छन्। अन्नपूर्ण क्षेत्र हिमताल विस्फेटनको खतरा भएको क्षेत्र हैन तैपनि हिम बाढीले ठूलो क्षति गरेको छ।
अन्नपूर्ण शृंखलामा ठूला हिमताल छैनन्, त्यसैले यहाँ हिमताल (ग्लेशियर लेक आउट ब्रस्ट फ्लड 'ग्लफ')विस्फोट भएको सम्भावना छैन। एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का जलवायु परिवर्तन विशेषज्ञ अरूण भक्त श्रेष्ठका अनुसार यो क्षेत्र भिरालो प्रकृतिको छ। जुन हिम पहिरोका(एभल्यान्स) लागि सजिलो हुन्छ।
प्रकृति हेर्दा राति गएको हिमपहिरोले सेती नदी छेकेको सम्भावना छ। नदीको बाटो छेक्दा पानी रातभरी भरिँदै गयो र पानीको भार थाम्न नसकेपछि फुटेको हुनसक्छ। प्रीमनसुन हिमपहिरो जाने समय पनि हो। हिँउदमा परेको हिँउमाथि यो मौसममा परेको हिँउ थपिन्छ त्यो हिँउ भिरालो ठाँउमा पहिलेदेखि परेर जमेको हिँउमा राम्ररी जम्न नसक्दा प्रीमनसुनको बढदो तापक्रमले हिँउ पहिरो जाने बढी सम्भावना रहन्छ। शुक्रबार पोखराको अधिकतम तापक्रम २८ दसमलब ६ डिग्री सेल्सियस थियो।
यसरी भिरालो ठाँउमा हिम पहिरो जाँदा पुरानो हिँउलाइ पनि आफुँसँगै टाँसेर मात्रा बढ्दै जान्छ। वास्तविकता जान्न विशेषज्ञहरूले स्थलगत अध्ययननै गर्नुपर्ने बताउँदै श्रेष्ठले थपे ठूलो सम्भावना र प्रकृति हेर्दा नदीको बाटो ठूलो हिम पहिरोले छेक्दा भएको देखिन्छ। विशेषहरू शनिबार यस विषयमा छलफल गर्न एकठाँउमा जम्मा भएका छन्।
प्रतिक्रियाहरू

No comments:

Post a Comment