- अमेरिका उडाइदिन्छु भन्दै झन्डै दुई सय जनासँग करिब ४ करोड रुपैयाँ उठाएर ३ जना दलालहरू फरार भएका छन् ।
नुवाकोट तलाकु गाविसका हस्तबहादुर गुरुङ, काठमाडौं महाराजगन्जका बिमलसिंह ठकुरी र शिवराम श्रेष्ठले रकम लिएर फरार भएको वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । उनीहरूले झन्डै दुई सय जनालाई प्रतिव्यक्ति १० लाखसम्म उठाएर सम्पर्कविहीन भएको पीडितले बताए । 'यो समूहबाट ठूलो ठगी भएको भन्दै उजुरी हाल्न पीडितहरू आइरहेका छन्,' विभागका कानुन अधिकृत हरिसिंह धामीले कान्तिपुरलाई भने, 'आइतबारमात्रै २० जनाले उजुरी दर्ता गराएका छन् ।'
उनीहरूले पीडितलाई डेढ वर्षअघिदेखि नै रकम उठाउन थालेका थिए । तीन महिनादेखि पीडितको सम्पर्क छैन । 'विश्वास गर्नु नै ठूलो भुल भयो,' उजुरी दिन आएका पीडित (नाम नलेख्न अनुरोध) ले भने, 'नजिकबाट चिनजानका थिए । नसके रकम फिर्ता गर्छु भन्थे । सबैलाई झुक्याएर फरार भए ।' ठगिनेमा अधिकांश २०/३० वर्षका अध्ययनरत विद्यार्थी छन् । 'हामीले यो कुरा परिवारलाई पनि बताएका छैनौं,' उनले भने, 'कति ठूलो सपना देखेका थियौं । सबै चकानचुर भयो ।'
आफ्नो छोरीलाई पढ्न र काम गर्न अमेरिका पठाउन भनेर डेढ लाख रुपैयाँ तिरेकी रामेछापकी आशा गिरी निकै तनावमा छिन् । 'कलंकीमा पसल चलाएर बसेकी थिइन् । पसलमा आउनेजानेहरूबाट छोरीले अमेरिका जाने कुरा थाहा पाएपछि जाने इच्छा देखाइन्,' पीडित गिरीले भनिन्, 'धेरै जनाजान तयारी देखेपछि छोरीको भविष्य राम्रो हुन्छ ठानेर ऋण खोजेर पैसा बुझाएँ ।' अहिलेउनी ऋण लिएको फाइनान्स र साहूलाई किस्ता र ब्याज बुझाउन नसकेर निकै समस्या परेको बताइन् ।
कानुनी अधिकृत धामीले सबै उजुरी आएपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताए। 'यो व्यक्तिगत ठगी हो,' उनले भने, 'उनीहरूको सम्पत्ति पहिचान गरी तुरुन्तै रोक्का गर्छौं ।'
मानव अधिकारकर्मी थापा पक्राउ अमेरिका लैजान भन्दै २२ लाख रुपैयाँ असुल गरी ठगी गरेको अभियोगमा वैदेशिक रोजगार विभागले मानव अधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापालाई आइतबार पक्राउगरेको छ ।
परिषद्का कोषाध्यक्ष सुनिलकुमार देउजाले अध्यक्ष थापाको निर्देशनमा रकम असुल गर्न भनेपछि उठाएको बयान दिएपछि विभागले थापालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । देउजाले नकुलप्रसाद दाहालसँग २२ लाख उठाएका थिए । नकुल अमेरिका जाने भनेर बैंकक र दुबई पुगेपछि फर्केर आएका थिए । 'संस्थाको पदाधिकारी बनाएर सेमिनार मिटिङमा सहभागी गराउने भनी अमेरिकालगायत मुलुकमा लैजाने भनी योजना बनाएर मलाई थापाले रकम उठाउन लगाएको हो,' देउजाले बयानमा भनेका छन् । देउजाले आफूलाई पनि फागुनमा अमेरिका पठाउने भनेको बताए ।
अध्यक्ष थापाले आफू निर्दोष रहेको बताए । 'म १९ वर्षदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति हुँ । यो मलाई फसाउने चालबाजी हो,' उनलेभने, 'यस्तो कार्यमा मेरो संलग्नता छैन ।'
जागिरको आस देखाउँदै ठग्दै
प्रतिमा बाँस्कोटा
काठमाडौं- 'बीस हजार रुपैयाँ दिए महानगरपालिकामा नगरप्रहरीको पदमा जागिर पाइने, त्यो पनि सरकारी' बागबजारमा सोडापानी बेच्ने दोलखाका प्रकाश बस्नेत यस्तो'अफर' सुनेर दङ्ग परे ।
दिनभरि तातो घाममा बसेर सोडापानी बेचेर कमाएको पैसा उनले सरकारी जागिर खाने लालचमा दोलखाकै सिर्जना कार्कीलाई दिए । उनले जागिर त पाएनन् नै पसिना बगाएर कमाएको रुपैयाँसमेत डुब्यो ।यी महिलाबाट ठगिने बस्नेत मात्र होइन अरू ८ जनासमेत छन् । त्यसमा कार्कीकै मामा हरिहर खड्का पनि छन् ।
महिला हेर्दा नपत्याउँदी छन्। अनुहार हेर्दा लाग्छ यिनले अरूलाई ठग्ने होइन, अरूले चाहिँ यिनलाई ठगे जस्तो छ तर यस्तै सोझी देखिने महिलाले आफू काठमाडौं महानगरपालिकाको खरिदार भएको र त्यहाँ नगरप्रहरीको सिपाहीपदमा जागिर लगाइदिन सक्ने भन्दै ९ जनाबाट २०/२० हजार रुपैयाँ उठाएकी छन् ।
कार्कीका मामा हरिहर खड्का बागबजारमा सोडा बेच्ने काम गर्छन् । उनलाई जागिर लगाउने भन्दै २० हजार रुपैयाँ लगिन् । स्थायी जागिर लगाउने भनेपछि खड्काका अन्य साथीले पनि २० हजार रुपैयाँ दिए तर नियुक्तिपत्र दिने भन्या दिनदेखि महिला फरार भइन् । 'पैसा लगेर सम्पर्कविहीन भएपछि हामीले प्रहरीमा खबर गर्यौं' बस्नेतले भने, 'उनका नातेदारलाई पनि लगाइदिने भनेपछि विश्वास गरेर दिएका थियौं ।' कार्की अहिले प्रहरी हिरासतमा छिन् ।
राजधानीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने क्रम बढेको छ । बेरोजगारीको संख्या बढिरहेका बेला जागिरको लालचमा मान्छेहरू आफूसँग भएको सम्पत्ति समेत गुमाइरहेका छन् ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी धीरजप्रताप सिहंका अनुसार बेरोजगारीबाट दिक्क भएकाहरूलाई लालच देखाएर पैसाअसुली भाग्नेको क्रम बढेको छ । प्रहरीमा दिनहुँजसो जागिर दिने भन्दै ठगेको उजुरी दिन पीडितहरू आउने गरेका छन् । 'दैनिकजसो यस्ता उजुरीहरू आइरहन्छन्' उनले भने, 'जागिर खानकै लागि पैसा खर्च गर्न हतारिंदा जागिर त पाइएन नै भएभरको सम्पत्तिसमेत जान्छ ।' सिंहका अनुसार मासिक ६/७ वटा उजुरी जागिर लगाउने भन्दै ठगी गरेको आउने गरेका छन् ।
बेरोजगारी समस्याले सताइरहेका बेला 'डुब्न लागेको व्यक्तिले परालको त्यान्द्रोको पनि सहारा लिन्छ' भनेभै+m चारतिर दौडँदा जागिर नपाएका बेला आएको जागिरको अफरमा पर्दा ठगिने गर्छन् । प्रहरी, सेना रअन्य सरकारी कार्यालयमा जागिर लगाउने भन्दै ठगी गर्नेहरू बढेको प्रहरीले जनाएको छ ।
जागिरकै लालचमा ३ किशोरहरूले१४ लाख रुपैयाँ गुमाएका छन् । बानेश्वर क्याम्पसमा पढिररहेका सल्यानका वीरेन्द्र भण्डारीसहित सञ्जय तिरुवा र पुष्कर घिमिरेले बागबजारमा चिया खाँदा चिनजान भएका व्यक्तिकोविश्वासमा पर्दा १४ लाख रुपैयाँ गुमाएका छन् ।
बागबजारको चिया पसलमा बसेर पत्रिका पढ्ने क्रममा चिनेकाएक व्यक्तिले जागिरको लालच देखाएर उक्त पैसा ठगी गरे । त्यसरी ठगी गर्ने रापेछापका भरतसिंह लामा अहिले प्रहरी हिरासतमा छन् । फसाउने अर्का सुरेन्द्र कार्की अझै फरार छन् ।
'पत्रिका पढ्ने क्रममा देखादेख हुन्थ्यो तर बोलचाल थिएन, पछिपछि बोल्न थाले' भण्डारीले सुनाए, 'अलिपछि हामी साथी जस्ता नै भएका थियौं ।' सुरेन्द्र कार्की नाम गरेका ती व्यक्तिले आफूलाई सेनाको क्याप्टेन भएको बताए । उनीहरूले चिया खाएको पैसासमेत तिर्यो । त्यही बेला पत्रिकामा सेनाकोभर्ना खुलेको विज्ञापन आयो । 'कार्कीले मेरो आफ्नो मान्छे मेजर छ, उसको प्रधानसेनापतिसँग राम्रो नाता छ, तिमीहरूको जागिर पक्का भन्यो' भण्डारीले सुनाए, '३/४ महिना
जति नै भएको थियो हाम्रो चिनजान भएको ।'
राम्रो जागिर खोजिरहेका उनीसहित ३ जनाले कार्कीको कुरा विश्वास गरे । कार्कीले टेकुको बेकरी क्याफेमा भेट गराए । भेट गर्न आउँदा आर्मीको युनिर्फममा आएका थिए। लामाले आफूलाई मेजर प्रमोद गुरुङका नामबाट परिचित गराउँदै आफू प्रधानसेनापति छत्रमानसिंह गुरुङको नातेदार भएको बताएका थिए । 'मैले भनेको चिफसाबले जे पनि मान्नुहुन्छ, भन्दै भेटैपिच्छे आर्मीकै गफ गर्थे' भण्डारीले सुनाए, 'कहिले आर्मी चिफले यस्तो बोल्यो, यस्तो गर्यो भन्दै आर्मीले प्रयोग गर्ने भाषा प्रयोग गर्दथे ।'
कसैले पैसा खुवाए क्षमताभन्दा बढीको जागिरको लालच देखाउँदा त्यसैतफै आकषिर्त हुने समस्याका कारण पनि ठगिने गरेको प्रहरीको भनाइ छ । 'आफ्नो शैक्षिक योग्यता र क्षमताभन्दा माथिको तलब हुन्छ भन्दै लालच देखाई ठग्नेहरू धेरै छन्,' एक प्रहरी अधिकृतले भने ।
यस्तै शान्ति सचिवालयमा महिला कामदारका लागि नयाँ भर्ना खुलेको र त्यसमा नाम निकाल्न प्रतिव्यक्ति १० हजार रुपैयाँ लाग्ने भन्दै नवराज तिम्सिनाले ठगी गरेका छन् । उनले कपन बस्ने अनिता ढकालसहितका ५ जनाबाट १०/१० हजार रुपैयाँ लिएर भागेपछि प्रहरीले उनलाई पक्राउ गरेकोछ ।
ठगीका मुद्दा वृत्त र प्रभागलाई नहेर्न निर्देशन
महानगरीय प्रहरी आयुक्तको कार्यालयले वृत्त र प्रभागलाई आर्थिक अपराधसँग जोडिएका मुद्दा नहेर्न निर्देशन दिएको छ । वृत्त र प्रभागका प्रहरी धेरैजसो आर्थिक अपराधसँग जोडिएर विवादमा आएको भन्दै आयुक्तकोकार्यालयले त्यस्ता मुद्दा नहेर्न निर्देशन दिएको हो ।
आर्थिक अपराधका मुद्दालाई बढी प्राथमिकतामा राखेको बुझिन थालेपछि परिसर प्रमुुखवा आयुक्तलाई जानकारी गराएर मात्र हेर्न निर्देशन दिएको आयुक्तको कार्यालयले जनाएको छ । आयुक्त एआईजी कुबेरसिंह रानाले यस्ता मुद्दामा प्रहरी बढी विवादमा आउने गरेको कारण जानकारी नगराई मुद्दा नहेर्न निर्देशन दिएको बताए । 'लेनदेनका मुद्दालाई आफू किसिमले हेर्ने र नाजायज फाइदा लिने गरेको गुनासो आएपछि जानकारी गराउन भनिएको हो' उनले भने, 'लेनदेनका मुद्दालाई दर्ता नगरी आफूखुसी मध्यस्थकर्ता बन्दै फाइदा लिने गरेको भन्ने थाहा पाएपछि सबैलाई निर्देशन दिइएको छ ।' उनले प्रहरी आर्थिक लेनदेनकै मुद्दामा विवादमा तानिने गरेकाले छवि सुधार्नका लागि समेत जरुरी भएको बताए ।
प्रकाशित मिति:
No comments:
Post a Comment