काठमाडौं, असार २४ - 'एक जनालाई साउदी उडाउनु छ', त्रिभुवन विमानस्थलको पार्किङ नजिक तीन जनाको समूहमा एउटा दलालले प्वाक्का भने, 'क्लाइन्टभित्र छिरिसकेको छ ।' शुक्रबार बिहान साढे सात बजे चार जना रहेको समूहमा विमानस्थलमा बढ्दो 'सेटिङ' (गैरकानुनी रूपमा अध्यागमन, श्रमडेस्क, टिकट काउन्टरका कर्मचारीसँगको मिलोमतोमा हुने काम) बारे कुराकानी भइरहँदा ती दलालले आफ्नो कुरा झिके, 'अस्ति पनि एक जना पठाएँ ।'
त्यतिखेर वैदेशिक रोजगारका लागि कतार, ओमान, साउदी अरब जाने कामदारको लर्को लागेको थियो । उनीहरूलाई श्रम डेस्क, टिकट काउन्टर र अध्यागमन पार गर्न भ्याइनभ्याई थियो ।
'श्रम डेस्कमा झन्झन्ट भएन, टिकट काउन्टर पार भइयो । अध्यागमनमा कर्मचारीले राहदानीमा फोटो ड्यामेज भनेररोक्यो,' भित्रबाट फोनमा यस्तो आवाज आइरहँदा उनले ती व्यक्तिलाई थम्थम्याए, 'बाहिर नआऊ, अझै आधा घन्टाको समय छ । अन्तिम समयमा पार गराउँछु ।'
सजिलैसँग मान्छे पार गराउन नसकेर अलि चिन्तित हुँदै उनी समूहलाई छाडेर फोनमा निकै व्यस्त भए । 'आज अलि गार्हो होलाजस्तो छ,' निकैबेर फोनमा गफिएपछि त्यही समूहमा आए, 'अस्ति एक जना महिलालाई उठाउन ३५ हजार तिरियो, आज बढी नै खोज्ला जस्तो छ ।'
उनले त्यो पैसा अध्यागमनको कर्मचारीलाई बुझाएका रहेछन् । यसपटक साउदीमा ३५ जना महिला पठाउनुपर्ने उनले बताए । 'राम्रै माछा पारेछस् त,' अर्को साथीले भन्दा मुस्कुराउँदै कुरा खोल्न थाले, 'एउटा महिला पठाएबापत स्पोन्सरले ९ हजार रियाल -करिब दुई लाख रुपैयाँ) पठाएको छ । सबैलाई बाँड्दा ३० हजार जति फाइदा हुन्छ ।'
वैदेशिक रोजगार विभागले श्रमस्वीकृतिमा निकै कडाइ गरेपछि विमानस्थलमा 'सेटिङ' बढ्न थालेको हो । विभागले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति गर्दा दरिलो कागजातखोज्ने र कम्पनी, पेसा र तलबकोकागजात एउटै खोज्ने गरेको छ । त्यस्तो कागजात बनाउन नसकेपछि कामदारलाई 'सेटिङ' मार्फत गन्तव्य मुलुकमा पठाउने गरिएको रहेछ । यस्ता काममा म्यानपावर व्यवसायी, ट्राभल एजेन्सी, होटल सञ्चालकको सक्रियता निकै बढेको छ ।
'विमानस्थलमा हुने गरेको सेटिङ नौलो होइन,' म्यानपावर सञ्चालकले भने, 'फरक यत्ति हो, पहिला सेटिङ खर्च कम थियो, अहिले बढी नै हुन्छ ।'
खाडीस्थित नेपाली दूतावासले समेत बारम्बार परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी दिँदै आएको छ । श्रम मन्त्रालयले सेटिङको विषयमा अध्यागमनसँग पटक-पटक चासो राख्दै यसलाई रोक्न अनुरोध पनि गरेको छ । 'अध्यागमनको सहभागिताबिना सेटिङ हुँदैन,' श्रम मन्त्रालयका एक अधिकारीभने, 'लेबर भिसाको मान्छे कसरीश्रम स्टिकरबिना जान्छन् त ?'
श्रम मन्त्रालयले कामदारले अनावश्यक दुःख नपाउन् भनेर गृह मन्त्रालयलसँग समन्वय गरी 'व्यवस्थित कार्यविधि' बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अध्यागमन, श्रम डेस्क र टिकट काउन्टरको आ-आफ्नो जिम्मेवारीभित्र रहेर कार्यसम्पादन गर्न र सेटिङलाई हटाउन यो कार्यविधिले काम गर्न सक्ने जनाएको छ ।
ठगीका कारणले निकै बदनाम भएको वैदेशिक रोजगारको क्षेत्रलाई सुधार अभियान गरिरहेको सरकारको निम्ति सेटिङ ज्यादै चुनौतीपूर्ण भएको वैदेशिक रोजगार सुझाव सुधार कार्यदलका संयोजक गणेशगुरुङले बताए । 'अहिले ३० बुँदे सुझावअनुसार यो क्षेत्रको सुधार भइरहेको छ,' उनले भने, 'तर सेटिङ पूरै रोक्न नसक्ने हो भने यो सुधारको अर्थ रहँदैन ।'
No comments:
Post a Comment