Thursday, April 26, 2012

व्यापारी अपहरणमा पूर्वलडाकु

केपी ढुंगाना, काठमाडौं, वैशाख १४ -एक्काइस दिनअघि काठमाडौं सतुंगलबाट अपहरित व्यापारी सुरेश महर्जन बुधबार भारतीय भूमिबाट अपहरणमुक्तभएका छन्। उनलाई भारतीय र नेपाली सुरक्षाकर्मीको संयुक्त अप्रेसनमा भारत रुपैडिहानजिकै नानपाराबाट सकुशल मुक्त गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखा, बाँके प्रहरी र भारतीय प्रहरीको संयुक्त अप्रेसनमा अपहरणमा सहयोगी तीन नेपाली र एक भारतीय पक्राउ परेका छन्।
पक्राउ परेका मध्ये भारतीय नागरिक विनोद यादवलाई भारतकै प्रहरीलाई बुझाइएको छ भने ईश्वर दाहाल, बुद्ध तामाङ र मिलन सिँजालीलाई काठमाडौं ल्याइएको छ।
नेपाली अपहरणकारीको
मुख्य योजनामा बुटवल नेपालगन्ज हुँदै भारतको रुपैडिहा पुर्‍याएर महर्जनलाई भारतीयको जिम्मा लगाई बन्धक बनाएर फिरौती मागिएको थियो। अपहरणकारीले मागेको ३ करोड फिरौतीबिनै प्रहरीलेमहर्जनलाई छुटाएको हो।
अपराध महाशाखाका प्रमुख देवेन्द्र सुवेदीका अनुसार सतुंगल- २ का फर्निचर व्यापारी महर्जनलाई अपहरणकारीले घुम्न लैजाने बहानामा बुटवल, नेपालगन्ज हुँदै भारतको नानतारा पुर्‍याएर बन्धक बनाएका थिए।
महर्जन १९ गते श्रीमतीलाई पूर्वपरिचित गणेश शर्मासँग 'घुम्न जान्छु' भनेर घरबाट हिँडेका थिए। नेपालगन्ज पुगेर श्रीमतीलाई फोन गरेर भारत पुगेर आउने बताएपछि महर्जन सम्पर्कविहीन भए
का थिए।
'२६ गते अकस्मात महर्जनकी श्रीमतीलाई फोन आयो,' एसएसपी सुवेदीले नागरिकसँग भने, 'उनीहरुले महर्जनलाई अपहरण गरेको भन्दै ३ करोड फिरौती मागेछन्।'
अनुसन्धान अधिकारीका अनुसार २६ गते नै महर्जनको अपहरण भएको जानकारी प्रहरीमा आए पनि उनका परिवार वैशाख ४ गतेमात्र अपराध महाशाखा पुगेका थिए।
मध्यमवर्गीय महर्जन परिवार अपहरणकारीको माग पूरा गर्नसक्ने आर्थिक हैसियतको नभएकाले प्रहरीसम्पर्कमा पुगेको थियो। अपहरणबारे जानकारी आएपछि महाशाखाका डिएसपी हृदय थापाको संयोजकत्वमा प्रहरी निरीक्षक रोशन खड्का र सई गजेन्द्र रावलसहितको टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धान अधिकारीका अनुसार महर्जनलाई पूर्वपरिचित गणेश शर्माले 'घुम्न जाउँ्क' भन्दै उनलाई बुटवल पुर्‍याएका थिए। शर्माकै योजनामा उनको अपहरण भएको प्रारम्भिक अनुसन्धा
नमा देखिएको थापाले जनाए।
'फिरौती माग्ने र परिवारलाई धम्क्याउने काम नेपाली अपहरणकारीले गरेछन्,' डिएसपी थापाले भने, 'उनीहरुले हुन्डी र बैंकमार्फत पैसा पठाउन महर्जन परिवारलाई धम्क्याइरहेका थिए।'
फिरौती नदिए हत्या गरिदिने धम्की दिए पनि उनीहरुले परिवारलाई महर्जनसँग कुरा गराएनन्। परिवारले आवाज सुनाउन आग्रह गर्दा अपहरणकारीले अस्वीकार गरेका थिए।
अपहरणकारीले प्रयोग गरेको भारतीय मोबाइल नम्बरका आधारमा उनीहरु रुपैडिहा क्षेत्रमा रहेको पत्ता लागेको थियो। लगत्तै बाँके प्रहरीले भारतको नानतारा प्रहरीको सहयोग मागेपछि संयुक्त अप्रेसन गरिएको थियो।
अपहरणकारी र बन्धक सक्रिय देखिएको क्षेत्रमा सुरक्षा घेरा साँघुरो बनाउँदै जाँदा बुधबार एक भारतीय नागरिकको घरमा महर्जन बन्धक अवस्थामा फेला परेका थिए।
अनुसन्धानका मुख्य योजनाकार शर्मासहितका अन्य सहयोगी भारतमै छन्। पक्राउ परेका सहयोगीमात्र हुन्।
पूर्वलडाकु अपहरणमा
अनुसन्धान अधिकारीका अनुसार महर्जन अपहरणमा माओवादी पूर्वलडाकुको संलग्नता देखिएको छ। पक्राउ परेका सिँजाली र ईश्वर दाहाल माओवादी पूर्वलडाकु रहेको पुष्टि भएको प्रहरीस्रोतले बतायो।
फरार अन्य पनि पूर्वलडाकु रहेको खुलेको प्रहरीस्रोतले बतायो। अपहरणमा संलग्न अन्यको पहिचान खुले पनि अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले विवरण खुलाएको छैन।
अपहरणमा नयाँ शैली
अपहरण अनुसन्धानमा पोख्त एसएसपी सुवेदीले अपहरणको शैली हेर्दा अनुभवीले योजना बनाएको देखिएको बताए। अपहरणपछि बन्धक बनाउने प्रक्रिया, फिरौती माग्ने शैलीका आधारमा प्रहरीले यो निष्कर्ष निकालेको हो। पुराना अपहरणमा संलग्न पनि यस घटनामा संलग्न हुनसक्ने प्रहरी अनुमान छ।
'अपहरणमा नयाँ शैली देखियो,' एसएसपी सुवेदीले भने, 'यसअगाडिका अपहरणमा पूर्वयोजनासहित कब्जामा लिएर अपहरण हुन्थ्यो, तर यसमा आफन्तको प्रयोग गरी फकाएर सीमापारि पुर्‍याइएको देखियो।'
तराईमा हुने अपहरणमा सीमापारि पुर्‍याएर फिरौतीको माग हुने गरेको भए पनि उपत्यकामा हुने गरेका अपहरणमा अपहरितलाई नेपालभित्रै बन्धक बनाएर फिरौती असुल्ने गरिएको थियो।
अपहरणकारीले महर्जनलाई भने सहजै भारत पुर्‍याएका थिए। अपहरणमा संलग्न नेपाली नागरिकले अपहरित महर्जनलाई भारतीय अपराधीलाई बुझाएका थिए। उपत्यकामा हुने अपहरणको हकमा यो अपराध शैली नयाँ रहेको अनुभवी प्रहरी अधिकारी बताउँछन्।
(फोटो : मोन्टाज गरिएको हो। सक्कली होइन)

No comments:

Post a Comment