Saturday, August 4, 2012

ख्याल गर्नू, गाडीमा लुटिएला!

ऋचा अर्याल, काठमाडौँ, साउन २०- डेढ महिनाअघि सिन्धुलीका पुष्पराज श्रेष्ठ गोंगबुको एक फाइनान्सबाट १ लाख ९५ हजार रुपैयाँ निकालेर महाराजगन्ज जाने क्रममा गाडीभित्रै लुटिए।
खल्तीको रकम छिनभरमै लुटिँदा उनलाई छाँगाबाट खसेजस्तै भयो। उनले नागरिकसँग भने, 'गाडीमा चढेपछि वरपरका यात्रुहरू भलाद्मीझैं लागेको थियो, गाडी केहीबेरमै यसो खल्ती छाम्दा त रकम गायब।'
रकम लुटेको आरोपमा प्रहरीले सागर घले, रोहित लामा र विजय तामाङलाई पक्राउ गरेको छ। घले महाराजगन्जस्थित प्रहरी हिरासतमा छन् भने रोहितर विजय अझै फरार छन्।
राजधानीमा सार्वजनिक यातायात चढ्ने यात्रुहरू दिनहुँजसो लुटिइरहेका छन्। लुटपाटमा संलग्नलाई कडा कारबाही नहुने भएकाले हम्मेसी लुटिएका यात्रुहरूले उजुरी नगर्ने यातायात व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार कलंकी, नयाँ बसपार्क र पुराना बसपार्क क्षेत्रमा गाडीभित्रैबढी लुटपाट हुने गरेको पाइएको छ। त्यस्ता लुटेराहरू चिटिक्क परेर हिँड्ने गर्छन्। समूहमाहिँड्ने लुटेरालाई चालक र परिचालकले चिन्छन्। तर, असुरक्षाका कारण उनीहरूले प्रहरीलाई खबर गर्दैनन्। 'प्रहरीलाई नाम बताइदिँदा आफैं पिटिने डरले कोही मुख खोल्दैनन्,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष तथा संयुक्त यातायातका अध्यक्ष सरोज सिटौलाले भने। सिटौलाका अनुसार यस्ता लुटेरा/पाकेटमारको देशभर ठूलो सञ्जाल छ।
समूहमा हिँड्ने लुटेराहरूले कसैले पैसा लिएर आएको थाहा पाउनासाथ पिछा गर्दै गाडीमा चढ्छन्। आफ्नो प्रयास सफल नहुन्जेलसम्म लुटेराहरूले अनेक बुद्धि लगाउँछन्। कलंकीबाट चढेका लुटेराहरू बालाजु हुँदै कोटेश्वरसम्म पनि पुग्छन्। 'चढ्दै ओर्लदै गरेर भए पनि कतै न कतै पुगेर उनीहरूले यात्रुलाई लुटेरै छाड्छन्,' सिटौलाले भने ' लुटेरालाई कानुनले कडा सजाय व्यवस्था नगरेकाले चिनेजानेकाहरू पनि बोल्न डराउँछन्।' सार्वजनिक यातायातमा हुने लुटपाटबारे आफूले बारम्बार प्रहरी प्रशासनलाई समेत जानकारी गराएको उनले बताए। उनले भने,'हामीले यसबारे प्रहरीलाई कति भनिसक्यौ, तर उनीहरूले सहकार्य नगर्दा यसमा कमी आउन सकेको छैन।' भदौदेखि चाडवाड सुरु हुने भएकाले गाडीमा यस्ता पाकेटमारको संख्या बढ्छ।
गाडीमा हुने लुटपाट नियन्त्रण गर्न प्रहरीले छड्के चेकजाँचलाई तीव्र पारेको छ। यसका साथै सादा पोशाकका प्रहरीलाई सार्वजनिक यातायात खटाएको छ। 'सार्वजनिक यातायातमा सादा पोशाकका प्रहरीलाई खटाएका छौं,' बालाजु प्रहरी वृत्तका प्रहरी प्रमुख कृष्णबहादुर पुल्लीमगरले भने, 'यसबाट चोरीका घटना कम हुने आशा लिएका छौं।' उनका अनुसार प्रहरीको सक्रिताले विगतको तुलनामा अहिले यस्ता घटना कम सुनिन थालेका छन्।
एकै ठाउँबाट ४-५ जनाको समूह गाडी चढ्ने, कोड शब्दको प्रयोग गने, उस्तै उमेरका क्याम्पस पढ्ने जस्तो नदेखिने युवकहरू व्यावसायिक लुटेरा हन सक्छन्। 'लुटेराले सजगता तथा चलाखीसाथे पैसा, मोबाइल, गरगहना लुट्छन्, थाहा पाएको बेलामा उनीहरू भागिसकेका हुन्छन्,' पुल्लीमगरले भने।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार गत वैशाख देखि साउन १५ सम्ममा काठमाडौमा चोरी, डाँका र लुटपाटमा संलग्न १ सय ६२ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। बालाजुमा २५, महाराजगञ्जमा २५, बौद्धमा २०, जनसेवामा २८ र कालीमाटीमा १७ पक्राउ परेका थिए। पक्राउ परेकामध्ये ७९ जनालाई मुद्दा चलाइएको छ र ८५ जनलाई निगरानीमा राखिएको छ।
प्रहरीका अनुसार यस्ता लुटेराहरू निश्चित ठाउँमा बस्दैन। एक ठाउँमा भाडा लिएर राम्रो रकम हात पर्नासाथ अन्तै डेरा सरिहाल्छन्। सित्तिमिति आफ्नो ठेगना नबताउने हुनाले यिनीहरूलाई पक्रन कठिन हुने प्रहरी बताउँछ। पछिल्लो समयमा लुटपाटमा महिलाको संलग्नता बढ्दैगएको छ। चिटिक्क परेका महिलाहरूले पुरुषहरूसँग टाँसिएजस्तो गरेर पर्स चोर्ने गरेकोसमेत पाइएकोछ। तर, यस्ता घटनाबारे कमै उजुरी आउने गरेको महानगरीय प्रहरी परिसर, हनुमानढोकाले जनाएको छ। परिसरका अनुसार प्रहरीमा चोरीका विभिन्न घटनाबारे उजुरी आए पनि सार्वजनिक यातायातमा हुने चोरीबारे खासै उजुरी आउँदैन। २५ वटा चोरीका घटनामध्ये एउटा-दुइटा घटना गाडीमा चोरी भएको हुने महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।
'मोबाइल र पैसा चोरी भएको छ भने त्यस्ता यात्रुहरूले उजुरी गर्छन्,' महानगरीय परिसरका प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले नागरिकसँत भने, 'तर पैसा मात्र चोरी भएको छ भने खासै उजुरी आउँदैन।'
लुटपाट भएमा र लुटेराको शंका लागेमा तत्कालै १०० नम्बरमा खबर दिए सिआरभी, प्रहरी युनिट र बिटले सवारी साधनलाई नियन्त्रणमा लुटेरा पक्राउ गर्नसक्ने सिंहले बताए। चाडपर्वका बेला भीडभाडमा पछाडिको गोजीमा पैसा नराख्न, चाहिनेभन्दा बढी पैसा नबोक्न र महिलालाई हातेब्याग नच्याप्न प्रहरीले सुझाव दिएको छ। कसैले बारम्बार कोड भाषा प्रयोग गरेमा र तिनीहरूमाथि शंका लागेमा तुरुन्त खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
लुटेराको कोड भाषा
पैसालाई 'बाग्ली', मानिसलाई रोक भन्न 'छेक', मोबाइललाई 'कान', पैसा छैनलाई 'बाग्ली भएन', हजारको नोटलाई 'फान', खुकुरीलाई 'घोप्टे', युनिफर्म लगाएका पुलिसलाई 'लाटो', सिभिल तथा केरकार प्रहरीलाई 'सेतो घर', भाग्न भन्न 'फाग', प्रहरीको भ्यानलाई 'बिरालो आयो,' सयको नोटलाई 'गज', ब्लेडलाई 'जिब्रो'।

No comments:

Post a Comment